इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि २ लाख ७० हजार यात्रु अलपत्र

इन्डोनेसिया । इन्डोनेसियामा ज्वालामुखी विस्फोट भएपछि हवाई उडानमा ठूलो असर परेको छ।

विस्फोटका कारण २ हजारभन्दा बढी उडान प्रभावित हुँदा करिब २ लाख ७० हजार यात्रु अलपत्र परेका छन्। ज्वालामुखीबाट निस्किएको खरानी हवाई क्षेत्रमा फैलिएका कारण राजधानी जकार्तास्थित सोकार्नो–हाट्टा अन्तर्राष्ट्रिय विमानस्थलले लगातार दोस्रो दिन पनि उडान सेवा बन्द गरेको हो।

जकार्ताबाट करिब १५० किलोमिटर टाढा रहेको अनाक क्राकाताउ ज्वालामुखीमा शुक्रबार रातिदेखि विस्फोट सुरु भएको थियो। विस्फोटसँगै लाभा र खरानी निस्किएर राजधानी जकार्ता तथा लाम्पुङ प्रान्तसम्म पुगेको बताइएको छ। हवाई क्षेत्रमा खरानीको प्रभाव कायम रहेपछि विमानस्थलले निर्धारित उडानहरू रद्द गरेको हो। अधिकारीहरूले स्थानीय समयअनुसार सोमबार राति ११ः५९ बजेदेखि उडान सेवा पुनः सञ्चालन गर्ने तयारी गरिएको बताएका छन्।

नागरिक तथा सैन्य उडान सञ्चालन हुने हालिम पर्दानाकुसुमा विमानस्थल पनि सोही समयसम्म बन्द रहनेछ। यसैबीच, अधिकारीहरूले ज्वालामुखीको क्रेटरबाट तीन किलोमिटर क्षेत्रभित्र प्रवेश नगर्न सर्वसाधारणलाई चेतावनी दिएका छन्। सुन्डा जलसन्धिबाट आवतजावत गर्ने पानीजहाजलाई समेत निषेधित क्षेत्रमा प्रवेश गर्न रोक लगाइएको छ। हालको ज्वालामुखी गतिविधिबाट सुनामीको खतरा नरहेको अधिकारीहरूले स्पष्ट पारेका छन्। यसअघि सन् २०१८ को डिसेम्बरमा अनाक क्राकाताउको केही भाग भत्किँदा आएको सुनामीमा ४ सयभन्दा बढी मानिसको मृत्यु भएको थियो। त्यस घटनाबाट सुमात्रा र जाभाका तटीय क्षेत्रमा हजारौँ मानिस प्रभावित भएका थिए। इन्डोनेसिया ‘प्यासिफिक रिङ अफ फायर’ क्षेत्रमा पर्ने भएकाले यहाँ ज्वालामुखी विस्फोट र भूकम्पका गतिविधि बारम्बार हुने गर्छन्।

Back To Top
Modern Footer Design