प्रधानमन्त्री शाह निजी क्षेत्रप्रति सकारात्मक देखिनुभएन : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधानमन्त्री बालेन्द्र शाहको निजी क्षेत्रप्रतिको दृष्टिकोण सकारात्मक नरहेको टिप्पणी गरेका छन्।

शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले प्रधानमन्त्रीका पछिल्ला अभिव्यक्ति र निर्णयहरू हेर्दा सरकार निजी क्षेत्रप्रति सकारात्मक रहेको नदेखिएको बताएका हुन्। उनले देशको अर्थतन्त्रलाई कुन दिशामा अघि बढाउने भन्ने विषयमा प्रधानमन्त्रीले स्पष्ट आर्थिक नीति र प्राथमिकता तय गर्नुपर्ने बताए। सरकारको ध्यान त्यसतर्फ पर्याप्त रूपमा केन्द्रित हुन नसकेको उनको भनाइ थियो। सरकारी उद्योग सञ्चालनको विषयमा पनि थापाले राज्यको समग्र आर्थिक नीतिसँग जोडेर निर्णय गर्नुपर्ने बताए। दुग्ध विकास संस्थान, हेटौँडा कपडा उद्योग र नेपाल औषधि लिमिटेडजस्ता सरकारी उद्योग सञ्चालनमा आउनुपर्ने भए पनि राज्यले आफैँ उद्योग चलाउनेभन्दा अर्थतन्त्रमा निजी क्षेत्रको भूमिका विस्तार गर्ने वातावरण बनाउनुपर्ने उनले बताए।

थापाले २०४६ सालपछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले खुला, उदार तथा बजारमुखी अर्थतन्त्रको नीति अघि बढाएको स्मरण गरे। त्यसबेला निजी क्षेत्र र बजारलाई विश्वास गर्ने नीतिले नेपालको आर्थिक विकासको आधार निर्माण गर्न सहयोग पुगेको उनको दाबी थियो। उनका अनुसार देशको आर्थिक दिशा निर्धारण गर्ने प्रमुख जिम्मेवारी प्रधानमन्त्रीको हुन्छ। प्रधानमन्त्री शाहको पछिल्लो कार्यशैली र अभिव्यक्तिबाट आफू निजी क्षेत्रप्रति सकारात्मक दृष्टिकोण नदेखिएको निष्कर्षमा पुगेको उनले बताए। ‘अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन, हि हेट्स प्राइभेट सेक्टर,’ थापाले भने।

आफ्नो टिप्पणी अनुमानका आधारमा नभएको दाबी गर्दै उनले प्रधानमन्त्रीका पछिल्ला अभिव्यक्ति तथा निर्णयहरूले नै यस्तो धारणा बनाउन आधार दिएको बताए। पार्टीको केन्द्रीय समिति बैठकमा समेत आफूले यस विषयमा विस्तृत रूपमा धारणा राखेको उनले उल्लेख गरे। सरकारी उद्योगका विषयमा निर्णय गर्दा तत्काल सञ्चालन गर्ने वा नगर्नेभन्दा पनि वर्तमान अर्थतन्त्रको अवस्था र राज्यको दीर्घकालीन आर्थिक नीतिलाई आधार बनाउनुपर्ने थापाको भनाइ छ। ‘दुग्ध विकास संस्थान, हेटौँडा कारखाना र नेपाल औषधि लिमिटेड चलून्, मुनाफा कमाऊन् भन्ने मेरो शुभेच्छा छ। तर राज्य सञ्चालन गर्ने व्यक्तिले आजको अर्थतन्त्र कस्तो अवस्थामा छ भन्ने कुरा पनि हेर्नुपर्छ,’ उनले भने। थापाले सरकारको प्राथमिकता निजी क्षेत्रका लागि लगानीको वातावरण सहज बनाउने, व्यवसाय विस्तारका लागि विश्वासको वातावरण सिर्जना गर्ने र आर्थिक गतिविधिलाई चलायमान बनाउनेतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिए।

Back To Top
Modern Footer Design