काठमाडौँ । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा प्रसूति व्यथामा पुगेकी महिलाले अस्पतालबाहिरै बच्चा जन्माएको घटनालाई सरकारले गम्भीर रूपमा लिएको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहताले बताएकी छन्।
प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उक्त घटनाबारे सरकारको जवाफ मागेपछि मन्त्री मेहताले मन्त्रालयले घटनाको छानबिन अघि बढाइसकेको जानकारी दिएकी हुन्। उनका अनुसार घटनाबारे अस्पतालसँग २४ घण्टे स्पष्टीकरण मागिएको थियो भने ड्युटीमा रहेका सम्बन्धित कर्मचारीलाई तत्काल कामकाजबाट अलग गरी अनुसन्धान सुरु गरिएको छ। घटनाको वास्तविकता पत्ता लगाउन नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार डा. सुपर्भा श्रेष्ठको नेतृत्वमा पाँच सदस्यीय एथिकल कमिटी गठन गरिएको मन्त्री मेहताले बताइन्। समितिले स्थलगत रूपमा समेत अध्ययन गरिसकेको उनको भनाइ छ।
मन्त्रीका अनुसार प्रारम्भिक विवरणमा प्रसूति व्यथामा अस्पताल पुगेकी ३० वर्षीया बबिताकुमारी पासवानलाई समयमै उपचार सेवा उपलब्ध नगराइएको देखिएको छ। उनलाई बेड नम्बर २४ बाट बाहिर पठाइएको विवरण प्रारम्भिक छानबिनबाट खुलेको र अस्पतालले मन्त्रालयसमक्ष स्पष्टीकरणसमेत पेस गरिसकेको उनले जानकारी दिइन्। सरकारले सुरक्षित मातृत्व, संस्थागत प्रसूति तथा आमा र नवजात शिशुको स्वास्थ्यलाई प्राथमिकतामा राखेको मन्त्री मेहताले बताइन्। गर्भवती महिलाले स्वास्थ्य संस्थामा पुगिसकेपछि उपचार नपाएर जोखिम मोल्नुपर्ने अवस्था आउन नहुने उनको भनाइ छ।
सरकारी स्वास्थ्य संस्थामा प्रसूति सेवा निःशुल्क हुनुका साथै सरकारले यातायात खर्चसमेत उपलब्ध गराउँदै आएको उल्लेख गर्दै मन्त्री मेहताले सेवा दिन अस्वीकार गर्नु वा बिरामीसँग शुल्क माग्नु कानुनविपरीत हुने स्पष्ट पारिन्। उनले छानबिन समितिको प्रतिवेदन प्राप्त भएपछि दोषी देखिने व्यक्ति वा कर्मचारीमाथि कानुनअनुसार कारबाही अघि बढाउने प्रतिबद्धता जनाइन्। साथै, आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन स्वास्थ्य संस्थाको सेवा प्रणालीलाई थप प्रभावकारी बनाउने सरकारको प्रयास रहने
