काठमाडौं । भदौ लागेसँगै सामान्यतया नेपाली समाजमा तीजको रौनक सुरु हुन्थ्यो। रातो पहिरनमा सजिएका महिला, तीजका गीत, दर खाने कार्यक्रम र भेटघाटले घरदेखि बजारसम्म चहलपहल बढ्थ्यो। तर यस वर्ष भने तीजको त्यो उल्लासमा विपद्को पीडा मिसिएको छ।
भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति गरेपछि त्यसको असर धेरै परिवारको चाडपर्वसम्म पुगेको छ। विशेषगरी रसुवा, नुवाकोट र धादिङका प्रभावित परिवारका लागि तीजभन्दा हराइरहेका आफन्तको खोजी, गुमेको घरबास र भोलिको चिन्ता ठूलो बनेको छ। आज तीजको दर खाने दिन। विगतमा यही दिन दिदीबहिनीहरू भेला भएर दर खाने, दुःखसुख साट्ने र नाचगान गर्ने गर्थे। तर बाढी प्रभावित परिवारका लागि यसपटक चाडको खुसीभन्दा आफन्त सुरक्षित भेटिएलान् कि भन्ने आशा ठूलो छ।
कतिपय परिवारले आफ्ना सदस्य गुमाएका छन् भने कतिपय अझै हराइरहेका आफन्तको खोजीमा छन्। कसैको घर बगेको छ, कसैको व्यवसाय र रोजगारीको आधार नै खोसिएको छ। घाइते भएर अस्पतालमा उपचार गराइरहेकाहरू पनि छन्। बाढीबाट विस्थापित सयौँ नागरिक अहिले अस्थायी शिविरमा बसिरहेका छन्। उनीहरूका लागि तीज मनाउनुभन्दा सुरक्षित बसोबास, खाना, स्वास्थ्योपचार र परिवारको पुनर्मिलन मुख्य प्राथमिकता बनेको छ।
काठमाडौं उपत्यकामा तीजको चहलपहल देखिए पनि विपद् प्रभावित क्षेत्रमा त्यसको रंग फिक्का छ। कतिपय महिलाले रातो पहिरन र चुरा लगाए पनि मनमा भने बाढीले दिएको चोट, गुमेको घर र हराइरहेका आफन्तको पीडा छ। ‘चाड त आयो, तर मनमा खुसी छैन’—एक महिलाको यो भनाइले यस वर्षको तीजको अवस्था स्पष्ट पार्छ। तीज केवल नाचगान र दर खाने पर्व होइन, दुःखसुख बाँड्ने अवसर पनि हो। त्यसैले यसपटकको तीजले एउटा सन्देश दिएको छ—विपद्मा परेका परिवारको पीडालाई आफ्नो खुसीसँग जोडौँ, उनीहरूलाई एक्लो नछाडौँ र पुनःस्थापनामा साथ दिऔँ। किनकि, विपद्को घाउ निको नभएसम्म चाडको खुसी पनि पूर्ण हुँदैन।
