देशभर मनसुनी गतिविधि सक्रिय

काठमाडौं । देशभर मनसुनी गतिविधि सक्रिय रहेकाले आज विभिन्न प्रदेशमा वर्षाको सम्भावना रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा हुनसक्ने भएकाले सतर्कता अपनाउनुपर्ने देखिएको छ।

महाशाखाका अनुसार अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ रहेको छ। सोमबार बिहान बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा तथा कोशी र कर्णालीका केही स्थानमा वर्षा भएको छ। सुदूरपश्चिम र लुम्बिनीका एक–दुई स्थानमा पनि वर्षा भएको छ। पछिल्लो ६ घण्टामा तनहुँको श्यामघा मौसम मापन केन्द्रमा ६५.६ मिलिमिटर र लमजुङको फालेनी केन्द्रमा ५०.४ मिलिमिटर वर्षा मापन भएको महाशाखाले जनाएको छ।

सोमबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने अनुमान गरिएको छ। कोशी, बागमती र गण्डकीका हिमाली क्षेत्रमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा तथा हिमपात हुनसक्नेछ। पहाडी भूभागका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा केही स्थान तथा मधेश र कोशीका तराई भूभागका थोरै स्थानमा समेत वर्षा हुनसक्ने महाशाखाको पूर्वानुमान छ।

भारी वर्षाको सम्भावना

कोशी र कर्णालीका पहाडी भूभाग तथा बागमती, गण्डकी र लुम्बिनीका पहाडी र तराई क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ। सोमबार राति पनि देशभर सामान्यतया बदली रहनेछ। हिमाली क्षेत्रमा मध्यम वर्षा वा हिमपात तथा पहाडी र तराई क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ। रातिको समयमा लुम्बिनी र सुदूरपश्चिमका तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

Back To Top
Modern Footer Design