शिक्षाविद् विद्या लिम्बुको निधन

काठमाडौं । नेपालमा निजी शिक्षा क्षेत्रको विस्तार र विकासमा महत्वपूर्ण योगदान पुर्‍याएकी शिक्षाविद् विद्या लिम्बुको निधन भएको छ।

७८ वर्षीया लिम्बुको शुक्रबार राति १०ः४५ बजे काठमाडौंस्थित ग्रान्डी अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। केही समयदेखि मृगौलासम्बन्धी समस्याबाट पीडित रहेकी उनको उपचारका क्रममा निधन भएको हो। लिम्बुले शिक्षण क्षेत्रमा लामो समय योगदान दिएकी थिइन्। उनले काठमाडौंको ज्ञानोदय स्कुलमा काम गरेपछि २०३७ सालमा ललितपुरको हात्तीवनस्थित लिटिल एन्जेल्स् स्कुलको प्रिन्सिपल तथा संस्थापकको जिम्मेवारी सम्हालेकी थिइन्।

त्यसपछि उनले आफ्नो अधिकांश समय लिटिल एन्जेल्स् स्कुलसँगै नेपालको निजी शिक्षा क्षेत्रको विकास र प्रवर्द्धनमा बिताइन्। निजी विद्यालय शिक्षाको विस्तारमा उनको योगदानलाई महत्वपूर्ण मानिन्छ। शिक्षासँगै समाजसेवामा समेत सक्रिय लिम्बुले विभिन्न सामाजिक गतिविधिमार्फत योगदान पुर्‍याउँदै आएकी थिइन्। उनको अन्त्येष्टि आइतबार दिउँसो पशुपति आर्यघाटमा गरिने भएको छ। त्यसअघि बिहान ११ बजे लिटिल एन्जेल्स् स्कुलको प्रांगणमा श्रद्धाञ्जलीका लागि उनको पार्थिव शरीर राखिने स्कुलका निर्देशक राजेश श्रेष्ठले जानकारी दिएका छन्। लिम्बुको निधनले नेपालको निजी शिक्षा क्षेत्रमा लामो समय योगदान दिएकी एक समर्पित शिक्षाकर्मी तथा अग्रणी व्यक्तित्व गुमाएको छ।

Back To Top
Modern Footer Design