देउवा समूहले संस्थापनको निर्णय अस्वीकार गर्ने

काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले विशेष महाधिवेशनबाट बनेको गगन थापा नेतृत्वको संस्थापन पक्षले गरेका निर्णयलाई मान्यता नदिने निर्णय गरेको छ।

सोमबार बिहान चुनदेवीस्थित देउवा निवासमा बसेको समूहको बैठकले विशेष महाधिवेशन नै वैधानिक नभएको दाबी गर्दै त्यसबाट गठित समितिले गरेका निर्णय स्वीकार नगर्ने निष्कर्ष निकालेको हो। देउवा समूहले संस्थापन पक्षले असोजमा १५औँ महाधिवेशन गर्ने गरी अघि बढाएको प्रक्रियामा सहभागी नहुने जनाएको छ। बरु १४औँ महाधिवेशनबाट आएको समितिले तय गरेको कार्यतालिकाअनुसार असोज १५ गतेदेखि अधिवेशन प्रक्रिया अघि बढाउने निर्णय गरेको नेता दीपक खड्काले जानकारी दिए।

समूहले मंसिरमा १५औँ महाधिवेशन गर्ने तयारीसमेत अघि बढाउने भएको छ। त्यसका लागि निर्वाचन समिति, अनुशासन समिति र क्रियाशील सदस्यता व्यवस्थापन समितिलाई पूर्णता दिने निर्णय गरिएको छ। यसअघि आइतबार देउवा समूहले निर्वाचन समितिको संयोजकमा यगराज पोखरेललाई नियुक्त गरिसकेको थियो। कांग्रेसभित्र गत पुसमा तत्कालीन केन्द्रीय समितिको असहमतिबीच महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा भएको विशेष महाधिवेशनपछि विवाद चर्किएको हो। देउवा र डा. शेखर कोइराला समूहले उक्त विशेष महाधिवेशनलाई अहिलेसम्म स्वीकार गरेका छैनन्। यसैबीच देउवा समूहले बैठकका निर्णय सार्वजनिक गर्न सोमबार दिउँसो ४ बजे चुनदेवीस्थित सम्पर्क कार्यालयमा पत्रकार सम्मेलन गर्ने जनाएको छ।

Back To Top
Modern Footer Design