काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको स्थलगत निरीक्षण गरेका छन्।
अस्पतालको गेटमै प्रसूति गर्न बाध्य भएकी सप्तरीकी बबिताकुमारी पासवानको घटनाबारे जानकारी लिन मन्त्री पोखरेल अस्पताल पुगेका हुन्। निरीक्षणका क्रममा उनले उपचाररत पासवानसँग भेट गरी आमा र नवजात शिशुको स्वास्थ्य अवस्थाबारे जानकारी लिए। अस्पताल प्रशासनका अनुसार पासवान र नवजात शिशु दुवैको स्वास्थ्य अवस्था सामान्य छ। पासवानको बेड नम्बर २२ मा उपचार तथा स्याहार भइरहेको अस्पतालले जनाएको छ।
मन्त्री पोखरेलले अस्पतालको सेवा प्रवाह, उपलब्ध पूर्वाधार तथा जनशक्तिको अवस्थाबारे समेत जानकारी लिएका थिए। अस्पतालको सेवा थप प्रभावकारी बनाउन आवश्यक चिकित्सक, स्वास्थ्यकर्मी तथा अन्य जनशक्तिको व्यवस्थापनका लागि पहल गर्ने उनले प्रतिबद्धता जनाए। साथै, अस्पतालको सेवा विस्तार र पूर्वाधार सुदृढीकरणका लागि आवश्यक सहयोग तथा व्यवस्थापनका विषयमा सम्बन्धित निकायसँग पहल गर्ने मन्त्री पोखरेलले बताए।
