आज पनि मनसुनी प्रभाव कायमै, तीन प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायमै रहेकाले आज पनि विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा अहिले सरदर स्थानभन्दा दक्षिणतर्फ रहेको छ।

हाल कोशी प्रदेशसहित देशका अधिकांश पहाडी तथा हिमाली भूभागमा सामान्यदेखि आंशिक बदली रहेको छ। तराई क्षेत्रमा भने आंशिकदेखि सामान्य बदली देखिएको छ। कोशी, बागमती र लुम्बिनी प्रदेशका केही स्थान तथा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ। आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।

त्यस्तै, देशका पहाडी भूभागका केही स्थानमा पनि चट्याङसहित मध्यम वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा केही स्थान तथा मधेस, कोशी र सुदूरपश्चिमका तराई भूभागका थोरै स्थानमा समेत चट्याङसहित वर्षाको सम्भावना रहेको छ। महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने सम्भावना छ।

रातिको समयमा पनि देशभर सामान्यतया बदली रहने अनुमान गरिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा थोरै स्थानमा चट्याङसहित मध्यम वर्षा हुनसक्नेछ। त्यसैगरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थान तथा मधेस र सुदूरपश्चिमका तराई क्षेत्रमा थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा राति भारी वर्षा हुनसक्ने महाशाखाको पूर्वानुमान छ।

Back To Top
Modern Footer Design