सुदूरपश्चिममा बढ्दो लागुऔषध अपराध, पक्राउ पर्नेमध्ये ठूलो संख्या युवा

धनगढी । सुदूरपश्चिम प्रदेशमा लागुऔषधसम्बन्धी अपराध बढ्दै गएको प्रहरीको तथ्यांकले देखाएको छ।

आर्थिक वर्ष २०८२/८३ मा मात्रै लागुऔषधसम्बन्धी घटनामा १ हजार १४६ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा ४९३ जना एसईई उत्तीर्ण गरेका युवा रहेका छन्। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार उक्त अवधिमा साधारण लेखपढ गर्न सक्ने ४०३ जना, कक्षा १२ उत्तीर्ण २०७ जना र कक्षा १२ भन्दा माथि अध्ययन गरेका ४३ जना पनि लागुऔषधसम्बन्धी अपराधमा पक्राउ परेका छन्।

पछिल्ला तीन वर्षको तथ्यांक हेर्दा पनि लागुऔषधसम्बन्धी अपराधमा पक्राउ पर्ने क्रम बढेको देखिन्छ। आर्थिक वर्ष २०८०/८१ मा ८४५ वटा मुद्दा दर्ता हुँदा ७९६ जना पक्राउ परेका थिए। २०८१/८२ मा ६९३ मुद्दा दर्ता भएकोमा पक्राउ पर्नेको संख्या १ हजार ४३ पुगेको थियो। गत आर्थिक वर्षमा ६९४ मुद्दा दर्ता हुँदा पक्राउ पर्नेको संख्या १ हजार १४६ पुगेको हो। जिल्लागत तथ्यांकअनुसार कैलालीमा सबैभन्दा धेरै ६३६ जना पक्राउ परेका छन्। त्यसपछि कञ्चनपुरमा ४१६ जना, डडेल्धुरामा १२, डोटीमा ७, बैतडीमा १५, दार्चुलामा २१, बझाङमा २४, बाजुरामा ४ र अछाममा ११ जना पक्राउ परेका छन्।

प्रहरीका अनुसार कैलाली र कञ्चनपुरमा लागुऔषधको समस्या बढी देखिनुको मुख्य कारणमध्ये भारतसँग जोडिएको खुला सीमा पनि एक हो। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी पदमबहादुर बिष्टका अनुसार भारतका विभिन्न नाकाबाट लागुऔषध नेपाल भित्र्याएर बिक्री वितरण गर्ने गरेको पाइएको छ। मुख्य नाकासँगै अन्य खुला बाटोबाट समेत लागुऔषध भित्रिने गरेको प्रहरीको भनाइ छ। पछिल्लो समय यसको कारोबारमा महिला तथा किशोरीको संलग्नता समेत देखिन थालेको प्रहरीले जनाएको छ। पैसा कमाउने प्रलोभनमा भारतबाट लागुऔषध ल्याएर नेपालमा बिक्री गर्ने गरेको पाइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता योगेन्द्र तिमिल्सिनाले बताएका छन्।

लागुऔषधको कारोबार सुरक्षा निकायको निगरानी क्षेत्रभित्रै समेत पुगिरहेको केही घटनाले देखाएका छन्। केही समयअघि कैलाली कारागारमा छोरालाई भेट्न पुगेकी धनगढीकी ५० वर्षीया कमलादेवी अवस्थीको साथबाट ५ ग्राम ४० मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको थियो। उनका छोरा ओमप्रकाश अवस्थी लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका थिए। त्यस्तै, धनगढी–६ चटकपुरका २५ वर्षीय भीम बोगटीले जेलमा रहेका आफन्तका लागि ल्याएको स्याम्पुको बट्टाबाट १३ ग्राम खैरो हेरोइन बरामद भएको प्रहरीको भनाइ छ। कैलाली कारागारमा कार्यरत एक प्रहरी हवल्दारसमेत लागुऔषध कारोबारमा संलग्न रहेको अनुसन्धानबाट खुलेपछि पक्राउ परेको घटना यसअघि सार्वजनिक भइसकेको छ।

प्रहरीले लागुऔषध नियन्त्रणका लागि विद्यालयदेखि वडा तहसम्म विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। पहिलो चरणमा कक्षा ११ र १२ का विद्यार्थीलाई लक्षित गरी सचेतना कक्षा सञ्चालन गरिएको र अब कक्षा ७ देखि १० सम्मका विद्यार्थीलाई समेत यस्तो कार्यक्रम विस्तार गर्ने तयारी गरिएको छ। अभिभावक र बालबालिकालाई सहभागी गराएर वडा तहमा सचेतना कार्यक्रम सञ्चालन गर्ने योजना पनि प्रहरीको छ।

यसैबीच, लागुऔषध प्रयोगकर्ताको उपचार तथा पुनःस्थापनाका लागि धनगढी उपमहानगरपालिका–१४ फूलबारीमा आसरा सुधार गृह सञ्चालनमा ल्याइएको छ। त्यहाँ लागुऔषधको लतमा परेकाहरूलाई राखेर चिकित्सकीय जाँच, उपचार, मनोपरामर्श र योगालगायतका गतिविधि सञ्चालन गर्ने व्यवस्था गरिएको छ। प्रहरीका अनुसार लागुऔषधका कारण युवामा विभिन्न समस्या देखिनुका साथै कतिपय जेलसम्म पुग्ने गरेका छन्। त्यसैले कारोबार नियन्त्रणसँगै प्रयोगकर्ताको उपचार, पुनःस्थापना र जनचेतनालाई पनि प्राथमिकतामा राखिएको प्रहरीको भनाइ छ।

Back To Top
Modern Footer Design