काठमाडौँ । भोटेकोशी बाढीपछि पुरिएको रसुवास्थित चिलिमे हाइड्रोपावरको सुरुङमा खोजी गर्ने क्रममा चार वटा शव फेला परेका छन्।
नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले बुधबार सुरुङभित्र सञ्चालन गरेको खोज तथा उद्धार अभियानका क्रममा ती शव फेला पारेको हो। नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार सुरुङको करिब ७० मिटर भित्रबाट तीन वटा सग्लो शव र एउटा मानव अङ्ग निकालिएको छ। गोताखोरको सहयोगमा शव तथा मानव अङ्ग बाहिर निकालिएको उनले जानकारी दिए।
गत भदौ १० गते आएको भोटेकोशी बाढीले चिलिमे हाइड्रोपावरसहित रसुवा र नुवाकोटका विभिन्न जलविद्युत् आयोजनामा ठूलो क्षति पुर्याएको थियो। बाढीपछि चिलिमे हाइड्रोको सुरुङमा मानिस फसेको आशंकामा नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले निरन्तर खोजी तथा उद्धार गरिरहेको थियो।
