काठमाडौँ । संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूले भदौ १० गते चीनको तिब्बतबाट भोटेकोशी हुँदै रसुवामा आएको बाढीको औपचारिक नामकरण गर्न सरकारलाई सुझाव दिने भएका छन्।
बुधबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा भोटेकोशी बाढीको नामकरणबारे छलफल भएको थियो। बैठकले बाढीको प्रकृति र क्षतिको अध्ययन गरेर उपयुक्त नाम राख्न सरकारलाई आग्रह गर्ने निर्णय गरेको हो। बैठकपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विपद्का घटनालाई पहिचानका लागि नाम दिने अन्तर्राष्ट्रिय अभ्यास रहेको भन्दै भोटेकोशी बाढीको पनि नामकरण आवश्यक रहेको बताए।
उनका अनुसार यो बाढी सामान्य प्रकृतिको नभएकाले यसको कारण र प्रभावबारे विज्ञ तथा प्राविधिकबाट अध्ययन आवश्यक छ। त्यसपछि विज्ञको सुझावका आधारमा सरकारले बाढीको नाम तय गर्नुपर्ने विषयमा सर्वदलीय बैठकमा सहमति भएको हो। बाढी गएको करिब तीन साता बितिसक्दा पनि औपचारिक नामकरण नभएको विषय बैठकमा उठेको थियो। दलहरूले अब यसबारे सरकारलाई औपचारिक रूपमा सुझाव दिने भएका छन्।
