श्रीमतीको सारीदेखि बच्चाको स्कुल शुल्कसम्मका लागि विदेश जानुपर्ने अवस्था अन्त्य गरौँ

काठमाडौं– सभामुख डोलप्रसाद अर्यालले नेपाली नागरिक सामान्य आवश्यकता पूरा गर्नकै लागि विदेशिनुपर्ने अवस्था अन्त्य गर्न स्वदेशमै रोजगारी र आर्थिक अवसर सिर्जना गर्नुपर्ने बताएका छन्।

बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले रोजगारी, लगानी र आर्थिक गतिविधि बढाउन राज्यको नीति तथा विकासको वर्तमान ढाँचामै पुनर्विचार आवश्यक रहेको बताए। अर्यालले वैदेशिक रोजगारीलाई विदेश जाने युवाको संख्याका रूपमा मात्र हेर्न नहुने धारणा राखे। उनका अनुसार देशभित्र पर्याप्त अवसर सिर्जना गर्न नसक्नु पनि नागरिक विदेशिनुपर्ने प्रमुख कारणमध्ये एक हो।

उनले भने, “नेपाली विदेश जाने भनेको घुम्न, पढ्न वा अनुसन्धान गर्नका लागि होस्। तर श्रीमतीको सारी किन्न, बच्चाको स्कुल शुल्क तिर्न वा परिवारको उपचार खर्च जुटाउनकै लागि विदेश जानुपर्ने बाध्यता अन्त्य हुनुपर्छ।” नेपालमा निजी क्षेत्रले लगानी गर्न खोजे पनि राज्यको नीति स्पष्ट र लगानीमैत्री हुन नसके आर्थिक गतिविधि विस्तार गर्न कठिन हुने उनको भनाइ छ।

सभामुख अर्यालले नेपाललाई प्राकृतिक सुन्दरताका लागि मात्रै चिनिने देश नभई उत्पादन, रोजगारी, लगानी, अध्ययन र अनुसन्धानको केन्द्रका रूपमा विकास गर्नुपर्ने बताए। देशमा भएका सम्भावनालाई रोजगारी र आम्दानीका अवसरमा बदल्न नसकिए युवालाई विदेश जानबाट रोक्न कठिन हुने भन्दै उनले सरकारको प्राथमिकता उत्पादन र रोजगारी विस्तारमा केन्द्रित हुनुपर्नेमा जोड दिए। उनका अनुसार लामो समयदेखि कायम रहेको वैदेशिक रोजगारीको बाध्यता, कमजोर लगानी वातावरण र राज्यको भूमिकासम्बन्धी समस्या समाधान नगरी मुलुकको आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न कठिन हुनेछ।

Back To Top
Modern Footer Design