मेलम्चीका पीडित र स्थानीय भेन्डर्सका माग सम्बोधन गर्न सरकारसँग दुलालको आग्रह

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का प्रमुख सचेतक युवराज दुलालले मेलम्ची खानेपानी आयोजनाबाट प्रभावित स्थानीय तथा भेन्डर्सका माग तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै दुलालले पीडित तथा स्थानीय भेन्डर्सले पुनः आन्दोलन घोषणा गरेको जानकारी गराउँदै त्यसका कारण मेलम्ची खानेपानी आयोजनाको काम प्रभावित हुन सक्ने बताएका हुन्। उनका अनुसार प्रभावित पीडित भेन्डर्स संघर्ष समितिले बिहीबारदेखि आयोजनाका सवारीसाधन तथा कर्मचारीलाई आयोजनास्थल प्रवेशमा रोक लगाउने घोषणा गरेको छ। यसले आयोजनाको नियमित काम प्रभावित हुने र पानी पथान्तरणमा समेत समस्या आउन सक्ने भन्दै उनले सरकारलाई समयमै पहल गर्न आग्रह गरे।

दुलालले यसअघि पनि मेलम्ची बाढी तथा खानेपानी आयोजनाबाट प्रभावित स्थानीय र भेन्डर्सले पानी पथान्तरण रोक्दै आन्दोलन गरेपछि सरकारले विभिन्न सम्झौता गरेको स्मरण गराए। तर, ती सम्झौता अझै पूर्ण रूपमा कार्यान्वयन नभएको उनको भनाइ छ। उनका अनुसार बाढीपीडितहरूको मुख्य माग प्रभावित क्षेत्रको पुनर्निर्माण, सडक निर्माण तथा बाढीबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माणसँग सम्बन्धित छ। स्थानीय भेन्डर्स भने सरकारले भुक्तानी गर्नुपर्ने रकमको विषयलाई लिएर संघर्षरत छन्।

दुलालले मेलम्चीदेखि हेलम्बुसम्मको सडक निर्माणका लागि बहुवर्षीय ठेक्का प्रक्रिया तत्काल अघि बढाउन माग गरे। त्यसैगरी मेलम्चीदेखि पाँचपोखरीसम्मको सडकका लागि पनि बहुवर्षीय ठेक्का प्रक्रिया अविलम्ब अघि बढाउन उनले सरकारसँग आग्रह गरे। विगतमा पीडितहरूसँग सरकारले गरेका सम्झौता कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै उनले पुनः पानी पथान्तरण बन्द हुने अवस्था आउन नदिन सरकारले तत्काल समस्या समाधान गर्नुपर्ने बताए। उनले सरकारको ढिलाइका कारण आन्दोलन चर्किएर मेलम्ची खानेपानी आयोजनाको सञ्चालन प्रभावित भएमा त्यसको असर राजधानीवासीसम्म पुग्न सक्ने भन्दै यसतर्फ गम्भीर हुन सरकारको ध्यानाकर्षण गराए।

Back To Top
Modern Footer Design