‘द ग्रे जोनको समाचारबारे रवि र बालेनले जवाफ दिनुपर्छ’

काठमाडौं । नेकपा एमालेका सांसद लक्ष्मीप्रसाद पोखरेलले अमेरिकी अनलाइन सञ्चारमाध्यम ‘द ग्रे जोन’मा प्रकाशित समाचारबारे रास्वपाका सभापति रवि लामिछाने, प्रधानमन्त्री तथा अन्य सम्बन्धित व्यक्तिले स्पष्ट जवाफ दिनुपर्ने बताएका छन्।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै पोखरेलले गत वर्ष भदौ तेइस र चौबीस गते भएका हिंसात्मक तथा विध्वंसात्मक घटनासँगै रास्वपा सभापति र प्रधानमन्त्रीको राजनीतिक उदयबारे ‘द ग्रे जोन’ले सार्वजनिक गरेका विषयमा सरकारले जवाफ दिनुपर्ने बताएका हुन्। उनले भदौ चौबीस गते सिंहदरबारलगायत सरकारी कार्यालय, निजी भवन र राजनीतिक दलका कार्यालयमा भएको घटनाका सम्बन्धमा पनि प्रश्न उठाए। उनका अनुसार ती घटनामा तालिमप्राप्त समूह र रासायनिक पदार्थको प्रयोग भएको विषय यसअघि नै ‘न्यूयोर्क टाइम्स’ले सार्वजनिक गरिसकेको थियो।

सांसद पोखरेलले ‘द ग्रे जोन’को रिपोर्टमा रवि लामिछाने र बालेन्द्र शाहसहित केही प्रभावशाली नेताहरूको राजनीतिक उदयमा अमेरिकाको भूमिका रहेको दाबी गरिएको भन्दै त्यसमा नाम जोडिएका व्यक्तिहरूले आफ्नो धारणा सार्वजनिक गर्नुपर्ने बताए। उनले भने, ‘सरकारले जवाफ दिनुपर्छ, नाम जोडिएका व्यक्तिहरूले पनि जवाफ दिनुपर्छ।’

Back To Top
Modern Footer Design