अमेरिकालाई चुनौती दिँदै क्यानडा–युरोप नजिकिँदै, ट्रम्पको चेतावनी

काठमाडौं । क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले युरोप र क्यानडा एकसाथ हुँदा दुवै पक्ष थप बलियो हुने बताएका छन्।

युरोपेली संसद्मा सम्बोधन गर्दै कार्नीले क्यानडा र युरोपबीचको सम्बन्धलाई थप मजबुत बनाउने पक्षमा जोड दिएका हुन्। कार्नीले युरोपेली संघसँग ‘विशेष किसिमको गठबन्धन’ निर्माण गर्न आफू इच्छुक रहेको बताएका छन्। यसअघि युरोपेली आयोगकी अध्यक्ष उर्सुला फन डेर लेयनले क्यानडालाई युरोपेली संघको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने सम्भावनातर्फ संकेत गरेकी थिइन्।

युरोपेली संघमा अहिलेसम्म कुनै पनि ‘एसोसिएट सदस्य’ नरहेको र यस्तो सदस्यताको व्यावहारिक स्वरूप भने अझै स्पष्ट नभएको बीबीसीले जनाएको छ। क्यानडा र युरोपबीच सहकार्यको चर्चा भइरहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने चेतावनी दिएका छन्। क्यानडा ईयूको ‘एसोसिएट सदस्य’ बनेमा त्यसलाई आफूले शत्रुतापूर्ण कदमका रूपमा लिए गम्भीर शुल्क लगाउन सक्ने वा युरोपसँग केही क्षेत्रमा व्यापार रोक्न सक्ने ट्रम्पले बताएका छन्। यसैबीच, अमेरिकाले हालै क्यानडाबाट आयात हुने सामानमा शुल्क बढाएको छ। त्यसको जवाफमा क्यानडाले पनि अमेरिकी सामानमा शुल्क लगाएको छ। कार्नीले भने क्यानडा र युरोप ‘सुखका बेला मात्र साथ दिने सहयोगी होइनन्’ भन्दै दीर्घकालीन सहकार्यमा जोड दिएका छन्।

Back To Top
Modern Footer Design