महाधिवेशन स्थगित गरेर सहमतिको पहल गर्न गगन थापालाई पूर्णबहादुर खड्काको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीभित्र देखिएको विवाद समाधान गर्दै एकता कायम गर्न सभापति गगन थापालाई १५औँ महाधिवेशनको कार्यतालिका केही समयका लागि स्थगित गर्न आग्रह गरेका छन् ।

खड्काले बिहीबार सामाजिक सञ्जालमार्फत थापालाई सम्बोधन गर्दै महाधिवेशनको प्रक्रिया केही समय रोकेर पार्टीका सबै पक्षसँग संवाद र सहमतिको प्रयास अघि बढाउन सुझाव दिएका हुन् ।

उनले १४औँ महाधिवेशनबाट निर्वाचित निवर्तमान सभापति शेरबहादुर देउवा तथा पार्टीका अग्रज नेताहरूसँग थापाकै नेतृत्वमा तत्काल वार्ता सुरु गर्न आग्रह गरेका छन् । पार्टीभित्र अझै पनि एकता कायम गर्न सकिने विश्वास आफूले राखेको खड्काले बताएका छन् ।

महाधिवेशनका दुई अलग प्रक्रिया अघि बढिरहे पार्टी विभाजनको अवस्था आउन सक्ने दाबी गर्दै खड्काले त्यसलाई रोक्न तत्काल सहमतिको प्रयास आवश्यक रहेको उल्लेख गरेका छन् ।

उनले पछिल्ला राजनीतिक घटनाक्रमले मुलुकमा जातीय, क्षेत्रीय तथा धार्मिक द्वन्द्वको जोखिम बढ्न सक्ने भन्दै राष्ट्रियता, भौगोलिक अखण्डता, सार्वभौमसत्ता र राष्ट्रिय स्वाभिमानप्रति चिन्ता व्यक्त गरेका छन् ।

खड्काले पार्टीको एकताका लागि आवश्यक कदम चाल्न थापालाई आग्रह गर्दै आफू कुनै व्यक्तिगत महत्वाकांक्षा नराखी आवश्यक त्याग र सहयोग गर्न तयार रहेको बताएका छन् ।

उनले विगतका घटनाक्रमबाट पाठ सिक्दै पार्टीभित्र गम्भीर समीक्षा गरेर निर्णायक पहल गर्न तथा सबै पक्षलाई समेटेर कांग्रेसको नेतृत्व गर्न थापालाई आग्रह गरेका छन् ।

Back To Top
Modern Footer Design