चाडपर्वपछि सरकारविरुद्ध आन्दोलन गर्ने प्रचण्डको चेतावनी

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चाडपर्व सकिएलगत्तै सरकारका गलत कदमविरुद्ध आन्दोलन अघि बढाउने चेतावनी दिएका छन्।

शुक्रबार ललितपुरमा आयोजित अखिल नेपाल किसान महासंघको केन्द्रीय समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रचण्डले संसद्‌भित्र प्रतिपक्षी दलहरूलाई एक ठाउँमा ल्याउने र सडकमा किसान, मजदुर, विद्यार्थी, सुकुम्बासी तथा ट्रेड युनियनलाई समेटेर संयुक्त मोर्चा निर्माण गर्ने बताएका हुन्। उनले वर्तमान सरकारले दमन र ज्यादतीको बाटो रोजेको आरोप लगाउँदै त्यसविरुद्ध व्यापक राजनीतिक प्रतिरोध आवश्यक रहेको बताए। चाडपर्वपछि देशको परिस्थितिअनुसार नयाँ आन्दोलन अघि बढाउने तयारी भइरहेको उनको भनाइ थियो।

प्रचण्डले देशमा देखिएका राजनीतिक चुनौती, बाह्य हस्तक्षेपको जोखिम र आफूहरूले उल्लेख गरेको ‘प्रतिक्रान्ति’को चुनौती सामना गर्न कम्युनिस्ट तथा वामपन्थी शक्तिबीच एकता र ध्रुवीकरण आवश्यक रहेको बताए। भदौ २४ गतेको घटनाले कम्युनिस्ट शक्तिलाई नयाँ ढंगले एकताबद्ध हुन दबाब र ऊर्जा दिएको उनको दाबी थियो। साथै, पछिल्लो ३५ वर्षमा पुराना दल तथा नेताहरूले केही नगरेको भन्ने भाष्यप्रति असहमति जनाउँदै आफ्नो नेतृत्वमा भएका विकास तथा पूर्वाधारका कामहरूबारे उनले चर्चा गरे।

उनले नेपालको आर्थिक विकासको आधार कृषि क्षेत्र भएकाले कृषिको आधुनिकीकरण, व्यवसायीकरण र यान्त्रीकरणमा जोड दिनुपर्ने बताए। कार्यक्रममा नेकपाका सह–संयोजक माधवकुमार नेपालले मुलुक अहिले गम्भीर संकटको अवस्थामा रहेको बताएका थिए। उनले बाह्य शक्तिको चलखेलका कारण राष्ट्रियता चुनौतीमा परेको दाबी गर्दै नेपाल दुई ठूला छिमेकीबीचको भूगोल भएकाले विदेशी शक्तिको खेलमैदान बन्न नहुने बताए।

नेपालले वामपन्थी, देशभक्त तथा लोकतान्त्रिक शक्तिहरूलाई एकताबद्ध गर्दै मुलुकका चुनौती सामना गर्न पार्टी अघि बढ्ने बताए। साथै, उनले कृषि क्षेत्रलाई बलियो नबनाई आर्थिक रूपान्तरण सम्भव नहुने भन्दै कृषि क्रान्तिसँगै आधुनिकीकरण, व्यवसायीकरण र यान्त्रीकरणलाई प्राथमिकता दिनुपर्ने धारणा राखे।

Back To Top
Modern Footer Design