राफिन्हाको लगातार दोस्रो ह्याट्रिक, सेभियाविरुद्ध बार्सिलोनाको शानदार जित

काठमाडौं । ब्राजिलियन फरवार्ड राफिन्हाले लगातार दोस्रो खेलमा ह्याट्रिक गरेपछि बार्सिलोनाले स्पेनिस ला लिगामा सेभियालाई ३–१ गोलले पराजित गरेको छ। यो जितसँगै बार्सिलोनाले लिगको शीर्ष स्थानमा आफ्नो पकड थप बलियो बनाएको छ।

रामोन सान्चेज पिजुआन रंगशालामा भएको खेलमा सेभियाले सुरुवाती अग्रता लिए पनि त्यसलाई कायम राख्न सकेन। खेलको १९औँ मिनेटमा युसुफ फोफानाले हेडमार्फत गोल गर्दै घरेलु टोलीलाई अघि बढाएका थिए। तर सेभियाको अग्रता लामो समय टिकेन। त्यसको तीन मिनेटमै राफिन्हाले गोल गर्दै बार्सिलोनालाई बराबरीमा फर्काए। त्यसपछि दोस्रो हाफमा उनले थप दुई गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरे।

५२औँ मिनेटमा लामिन यामलको उत्कृष्ट क्रसलाई राफिन्हाले हेडमार्फत जाली चुमाए। ६९औँ मिनेटमा यामलकै सिर्जनात्मक पासमा गोलरक्षकलाई छलाउँदै बल चिप गरेर उनले व्यक्तिगत तेस्रो गोल पूरा गरे। राफिन्हाले यसअघि गत बुधबार रेसिङ सान्टान्डरविरुद्ध ७–२ को जितमा पनि ह्याट्रिक गरेका थिए। लगातार दुई खेलमा तीन–तीन गोल गरेसँगै यस सिजन सबै प्रतियोगितामा उनको गोल संख्या १४ पुगेको छ।

यो जितसँगै बार्सिलोनाले २१ अंक जोडेको छ। दोस्रो स्थानमा रहेको रियल मड्रिड र तेस्रो स्थानको रियल बेटिसभन्दा बार्सिलोना ६ अंकले अगाडि छ। यद्यपि, बार्सिलोनाले दुवै टोलीको तुलनामा एक खेल बढी खेलेको छ। ला लिगामा बार्सिलोनाको यो लगातार सातौँ जित हो भने सबै प्रतियोगिता जोड्दा लगातार आठौँ जित हो। पराजित सेभिया भने १३ अंकसहित तालिकाको पाँचौँ स्थानमा यथावत् छ।

Back To Top
Modern Footer Design