देशभर मनसुन र पश्चिमी वायुको प्रभाव, पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । देशभर अहिले मनसुनी वायुसँगै पश्चिमी वायुको समेत प्रभाव देखिएको छ। मौसममा बदलीसँगै विभिन्न स्थानमा वर्षा भइरहेको छ भने आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा औसतभन्दा दक्षिणतर्फ रहेको छ। यसैबीच उत्तर अन्डमान सागर आसपास विकसित न्यून चापीय क्षेत्र मध्यपूर्वी बङ्गालको खाडीमा रहेको छ। उक्त प्रणाली आगामी दिनमा थप विकसित हुँदै पश्चिम–उत्तरपश्चिमतर्फ सर्ने पूर्वानुमान गरिएको छ। हाल कोशी प्रदेशसहित देशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्यदेखि आंशिक बदली रहेको छ। तराईका अधिकांश भूभागमा भने मौसम सामान्यतया सफा रहे पनि केही स्थानमा आंशिक बदली देखिएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षा भइरहेको छ।

दिउँसो देशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्यतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। त्यस्तै, कोशी र बागमती प्रदेशका तराई क्षेत्रमा केही स्थान तथा मधेससहित गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक–दुई स्थानमा पनि चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ। रातिको समयमा कोशी र मधेस प्रदेशसहित देशका हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा पनि बदली रहने तथा कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्र र बाँकी तराईमा आंशिक बदली रहने पूर्वानुमान छ।

राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ। कोशी र बागमतीका पहाडी भूभाग तथा मधेस प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना समेत रहेको महाशाखाले जनाएको छ। मौसममा आएको परिवर्तनसँगै भारी वर्षा हुने सम्भावित क्षेत्रमा बाढी, पहिरो तथा सडक यातायातमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

Back To Top
Modern Footer Design