काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा बसमा आगलागी हुँदा जलेर मृत्यु भएका चालकको पहिचान खुलेको छ। प्रहरीका अनुसार मृतक मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–सिस्नेरीका अर्जुन दोङ तामाङ हुन्।
काठमाडौं प्रहरी परिसरका एसएसपी दिलिप घिमिरेले प्रारम्भिक अनुसन्धानका क्रममा अर्जुनले दावा लामाको नाममा जारी भएको सवारीचालक अनुमतिपत्र प्रयोग गरेको पाइएको जानकारी दिएका छन्। प्रहरीका अनुसार उनले दावा लामाको नाममा रहेको बैंक खाता र नागरिकतासमेत प्रयोग गरेको हुन सक्ने तथ्य खुलेको छ। यस विषयमा थप अनुसन्धान भइरहेको छ।
अर्जुन यसअघि २०८२ साल कात्तिकमा बालाजुमा भएको बस पल्टिने घटनामा समेत संलग्न रहेको प्रहरीको भनाइ छ। उक्त घटनामा तीन जना घाइते भएका थिए। त्यसयता उनी फरार रहेको बताइएको छ। बालाजु घटनामा पनि उनले सुनील तामाङको नाममा जारी भएको सवारीचालक अनुमतिपत्र प्रयोग गरेको पाइएको एसएसपी घिमिरेले बताएका छन्।
त्यस्तै, करिब तीन महिनाअघि मूलपानी क्षेत्रमा ट्राफिक प्रहरीसँग अभद्र व्यवहार गरेको घटनामा समेत उनले अर्कै व्यक्तिको नाममा रहेको अनुमतिपत्र प्रयोग गरेको खुलेको प्रहरीले जनाएको छ। प्रहरीले अर्जुनले अन्य व्यक्तिका परिचयपत्र तथा कागजातसमेत प्रयोग गरेको हुन सक्ने भन्दै घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।
