काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत शनिबार देशका अधिकांश संघीय तथा प्रदेशसभा निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन आयोजना गरिएको छ ।
लगातारको वर्षाका कारण केही निर्वाचन क्षेत्रमा अधिवेशनको कार्यक्रम प्रभावित भए पनि अधिकांश ठाउँमा पूर्वनिर्धारित कार्यतालिकाअनुसार अधिवेशन सम्पन्न भएको कांग्रेसले जनाएको छ । काठमाडौं उपत्यकामा वर्षाका कारण काठमाडौंका केही क्षेत्रमा अधिवेशन स्थगित गरिएको छ भने ललितपुरमा भने शनिबार नै अधिवेशन भएको छ । कांग्रेस निर्वाचन समितिका अनुसार प्रतिकूल अवस्थाका कारण अधिवेशन हुन नसकेका क्षेत्रमा असोज १३ गतेसम्म अनुकूल समय मिलाएर अधिवेशन सम्पन्न गर्न सकिने व्यवस्था गरिएको छ ।
संघीय निर्वाचन क्षेत्रको अधिवेशनबाट संघीय निर्वाचन क्षेत्रीय कार्यसमिति, महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य चयन हुनेछन् । पालिका सभापति र प्रदेशसभा निर्वाचन क्षेत्रका क्षेत्रीय सभापति भने सम्बन्धित संघीय तथा प्रदेशसभा निर्वाचन क्षेत्रीय कार्यसमितिका पदेन सदस्यका साथै स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था छ । प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय कार्यसमितिमा सभापति र सचिव एक–एक जना निर्वाचित हुनेछन् । त्यस्तै, एक महिलासहित दुई जना सहसचिव निर्वाचित हुने तथा कोषाध्यक्ष भने सभापतिले मनोनयन गर्ने व्यवस्था रहेको छ ।
क्षेत्रीय अधिवेशनमार्फत पार्टीको महासमिति बैठकमा सहभागी हुने महासमिति सदस्यसमेत चयन गरिने निर्वाचन समितिले जनाएको छ । त्यसैगरी प्रदेशसभा निर्वाचन क्षेत्रीय अधिवेशनबाट ‘क’ र ‘ख’ दुवै क्षेत्रका लागि प्रदेशसभा क्षेत्रीय कार्यसमिति गठन तथा प्रदेश अधिवेशनका लागि प्रदेश प्रतिनिधि चयन गरिनेछ । नेपाली कांग्रेसको अधिवेशन प्रक्रिया असोज ३ गते वडा अधिवेशनबाट सुरु भएको हो । पार्टीको केन्द्रीय महाधिवेशन भने असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने कार्यतालिका यसअघि नै तय भइसकेको छ ।
