काठमाडौं । असोज ९ देखि १२ गतेसम्म परेको लगातारको वर्षापछि आएको बाढी, पहिरो र डुबानका घटनामा परी देशभर २७ जनाको मृत्यु भएको छ। बङ्गालको खाडीबाट विकसित न्यून चापीय प्रणालीका कारण भएको वर्षापछि देशका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएको हो।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो विवरणसम्म देशभर ५४२ वटा विपद्का घटना दर्ता भएका छन्। ती घटनामा ४ जना बेपत्ता र ८ जना घाइते भएका छन् भने १ हजार ८२ परिवार प्रत्यक्ष प्रभावित भएका छन्।
पहिरोमा सबैभन्दा बढी मानवीय क्षति
प्राधिकरणको विवरणअनुसार वर्षापछिको विपद्मा सबैभन्दा धेरै मानवीय क्षति पहिरोका कारण भएको छ। देशभर ३०४ वटा पहिरोका घटना हुँदा २० जनाको मृत्यु, ४ जना बेपत्ता र ७ जना घाइते भएका छन्। त्यस्तै, ८७ वटा बाढीका घटनामा ४ जनाको मृत्यु भएको छ। भारी वर्षासँग सम्बन्धित १५१ वटा घटनामा ३ जनाको मृत्यु हुनुका साथै एक जना घाइते भएका छन्। क्याम्प स्थापना गर्ने उद्देश्यले हिमलुङ हिमालतर्फ गएको २२ सदस्यीय नेपाली टोलीमध्ये हालसम्म ४ जनाको शव फेला परेको छ। बाँकीको खोजी तथा उद्धारका लागि हेलिकप्टरबाट हवाई खोजी जारी रहेको प्राधिकरणले जनाएको छ।
घरदेखि सडक र पुलसम्म क्षति
लगातारको वर्षाले सडक, पुल तथा आवासीय संरचनामा समेत ठूलो क्षति पुर्याएको छ। प्राधिकरणका अनुसार विपद्का कारण २२७ वटा घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने १४२ वटा घरमा आंशिक क्षति पुगेको छ। बाढीका कारण देशभरका १० वटा पुलमा क्षति पुगेको छ। बागलुङमा कालीगण्डकी नदीले पुल बगाएपछि यातायात सम्पर्क विच्छेद भएको छ भने विद्युत् र टेलिफोन सेवासमेत प्रभावित भएका छन्। म्याग्दीमा करिब ४०० मिटर सडक कटानमा परेको छ। विभिन्न राजमार्गमा समेत आवागमन प्रभावित भएको छ।
विपद्को असर कृषि तथा पशुपालन क्षेत्रमा पनि परेको छ। देशभर ३१ वटा गोठ भत्किएका छन् भने ११४ वटा पशुचौपायाको मृत्यु भएको प्राधिकरणले जनाएको छ।
२ हजारभन्दा बढीलाई सुरक्षित स्थानमा सारियो
सम्भावित जोखिमलाई ध्यानमा राख्दै जोखिमयुक्त क्षेत्रबाट करिब २ हजार जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। उद्धार तथा राहतका लागि जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका सुरक्षाकर्मी परिचालन भएका छन्। उद्धार अभियानमा सशस्त्र प्रहरीका ४ हजार ३९५ र नेपाली सेनाका २६५ जना सुरक्षाकर्मी परिचालन गरिएको प्राधिकरणले जनाएको छ। म्याग्दी, जाजरकोट, हुम्ला, मुगु र दैलेखलगायत दुर्गम जिल्लामा बाढी तथा पहिरोका कारण फसेका र गम्भीर घाइते भएकाहरूलाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ।
पूर्वसूचना र पूर्वतयारीमा जोड
विपद् आउनुअघि जोखिमयुक्त क्षेत्रका नागरिकलाई सचेत गराउन प्राधिकरणले करिब ९ लाख ८० हजार एसएमएस पठाएको जनाएको छ। त्यस्तै, नेपालमा रहेका तथा भ्रमणमा आएका पर्यटकलाई लक्षित गर्दै करिब ९ हजार अंग्रेजी भाषाका सूचना समेत प्रवाह गरिएको थियो। प्राधिकरणले पूर्वसूचना, उद्धार र सुरक्षित स्थानमा स्थानान्तरणलाई प्राथमिकतामा राखेर काम भइरहेको जनाएको छ।
