एमाले सांसद सिद्धिकीले कानुन समिति बैठक बहिस्कार गरिन्

काठमाडौं । नेकपा एमालेकी सांसद साजिदा खातुन सिद्धिकीले कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बीचमै छाडेकी छन्। बुधबार सिंहदरबारमा बसेको समितिको बैठकमा कैदीबन्दी तथा थुनुवाको मानव अधिकार अवस्थासम्बन्धी उपसमितिको प्रतिवेदनमाथि छलफल भइरहेका बेला उनले बैठक बहिस्कार गरेकी हुन्।

सांसद सिद्धिकीका अनुसार बैठकलाई सभापतिले प्रभावकारी रूपमा सञ्चालन गर्न नसकेको र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद स्मृति सेञ्चुरीले आफ्नो नाम लिएर गालीगलौज गर्दा पनि सभापतिले रोक्न नसकेपछि आफू असहमति जनाउँदै बाहिरिएकी हुन्। उपसमितिको प्रतिवेदनमा जनजी आन्दोलनका क्रममा गम्भीर अपराधमा संलग्नबाहेक अन्यलाई कानुनी प्रक्रियाअनुसार थुनामुक्त गर्ने विषय समेटिएकोप्रति पनि सिद्धिकीले आपत्ति जनाएकी छन्। उनको प्रश्न थियो—अपराधमा संलग्न व्यक्तिलाई केही सजाय तोकेर छाड्ने कि कुनै कारबाही नै नगरी मुक्त गर्ने?

त्यस्तै, सहकारी ठगीमा संलग्न व्यक्तिलाई जेलबाहिर राखेर पीडितको रकम फिर्ता गराउने प्रस्तावमा पनि उनले असहमति जनाएकी छन्। अपराधको प्रकृति हेरेर कानुनी कारबाही हुनुपर्ने उनको धारणा छ। कैदीबन्दीमध्येबाटै कारागारको नाइके छनोट गर्ने विषयमा समेत सांसद सिद्धिकीले आपत्ति जनाएकी छन्। यी विषयमा आफ्नो असहमति राखेपछि उनी बैठकबाट बाहिरिएको बताइएको छ।

Back To Top
Modern Footer Design