रसुवा बाढीपछि सरकारले गरेका काम सार्वजनिक

काठमाडौं । सरकारले रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत, स्वास्थ्य तथा पूर्वाधार पुनःस्थापनाका विभिन्न काम अघि बढाएको जनाएको छ।

प्रधानमन्त्री बालेन शाहको सचिवालयले सार्वजनिक गरेको ८ पृष्ठ लामो विवरणमा पछिल्लो ६ महिनामा सरकारले गरेका काम र उपलब्धिहरू उल्लेख गरिएको छ। विवरणअनुसार बाढी प्रभावित क्षेत्रमा १६ हजार ५९१ जनालाई हैजाविरुद्धको खोप र १ हजार ३०२ जनालाई टिटानासविरुद्धको खोप दिइएको छ। बाढीपछि तत्काल उद्धार तथा राहतका लागि २० हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको पनि सरकारले जनाएको छ।

बाढीका कारण प्रभावित रसुवा, नुवाकोट र धादिङका अवरुद्ध विद्युत् सेवा पुनः सञ्चालनमा ल्याइएको विवरणमा उल्लेख छ। सडक तथा आवागमन सहज बनाउन तादीमा बेलीब्रिज निर्माण सम्पन्न गरिएको र बेत्रावतीमा पुल निर्माण जारी रहेको सरकारले जनाएको छ। त्यस्तै, स्थानीयको आवागमन सहज बनाउन तुइन तथा वैकल्पिक झोलुङ्गे पुल निर्माण गरिएको जनाइएको छ।

बाढी प्रभावित व्यवसायलाई लक्षित गर्दै सरकारले बिजनेस रिकभरी प्याकेज ल्याउनुका साथै राहत र कर छुटको व्यवस्था गरेको जनाएको छ। रसुवागढी र भोटेकोशी बाढीबाट भएको क्षतिको विस्तृत मूल्याङ्कन गरी पुनर्निर्माणको योजना तयार गर्न ‘पोस्ट डिजास्टर निड्स असेस्मेन्ट’ प्रतिवेदनसमेत तयार हुने क्रममा रहेको सरकारले जानकारी दिएको छ। गत १० भदौमा आएको बाढीले रसुवासहित विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति पुर्‍याएको थियो।

Back To Top
Modern Footer Design