रौतहट । रौतहटको बौधिमाई नगरपालिका–८ बंकुलमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ।
बुधबार राति मौलापुरबाट बंकुलतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको बीआर ०५ एयू ०९०५ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परोहा नगरपालिका–९ का २८ वर्षीय जितेन्द्र दासको मृत्यु भएको हो। दुर्घटनाको सूचना पाएपछि बिहीबार बिहान करिब ५ः३० बजे प्रहरी चौकी बंकुलबाट प्रहरी सहायक निरीक्षक रमेशप्रसाद यादवको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो।
घटनाबारे थप अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय मौलापुरबाट प्रहरी निरीक्षक भरत केसीको नेतृत्वमा प्रहरी टोली तथा जिल्ला प्रहरी कार्यालय गौरबाट मुचुल्का टोलीसमेत परिचालन गरिएको प्रहरीले जनाएको छ। मृतक दासको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी वसन्त गौतमले जानकारी दिए। दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
