काठमाडौं । दक्षिण सुडानमा संयुक्त राष्ट्र सङ्घको शान्ति मिसनअन्तर्गत खटिएका नेपाली शान्ति सैनिकको अदलीबदली गरिएको छ।
यूएनएमआईएसएसमा कार्यरत श्री नयाँ गोरख गण (शान्ति सेना) १५औँ डफ्फालाई प्रतिस्थापन गर्न श्री नारायणदल गण (शान्ति सेना) १६औँ डफ्फाका २०३ जना शान्ति सैनिकको पहिलो टोली असोज १५ गते दक्षिण सुडानतर्फ प्रस्थान गरेको नेपाली सेनाले जनाएको छ।
नेपाली सेनाका अनुसार मिसनमा आफ्नो निर्धारित कार्यकाल पूरा गरेका नयाँ गोरख गणका २०३ जना शान्ति सैनिक पनि सोही दिन स्वदेश फर्किएका छन्। हाल दक्षिण सुडानमा सञ्चालन भइरहेको संयुक्त राष्ट्र सङ्घको शान्ति मिसनमा नेपाली सेनाका १ हजार ६९ जना शान्ति सैनिक कार्यरत रहेको सेनाले जनाएको छ।
