काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल जलवायु परिवर्तनसम्बन्धी प्रि–कोप बैठकमा सहभागी हुन शनिबार फिजी जाने भएका छन्। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार मन्त्री खनाल शनिबार फिजी प्रस्थान गर्ने तयारीमा छन्। यद्यपि, मन्त्रालयले उनको भ्रमणबारे औपचारिक जानकारी सार्वजनिक गरिसकेको छैन।
टर्कीमा आगामी नोभेम्बर ९ देखि सुरु हुने कोप–३१ सम्मेलनअघि फिजीमा तयारी बैठक आयोजना हुँदैछ। कोप सम्मेलनमा छलफल हुने प्रमुख विषय र एजेन्डामाथि प्रि–कोप बैठकमा छलफल हुने भएकाले यसलाई महत्वपूर्ण तयारी बैठकका रूपमा लिइन्छ। बैठकमा जलवायु वित्त, जलवायुजन्य हानि तथा क्षति, कार्बन उत्सर्जन न्यूनीकरणलगायत विषयमा छलफल हुने बताइएको छ। कोप सम्मेलनमा विस्तृत छलफल गर्न समय सीमित हुने भएकाले कतिपय जटिल विषयमा प्रि–कोपमै छलफल गरी सहमति जुटाउने अभ्यास रहँदै आएको छ।
नेपालले आगामी कोप–३१ मा जलवायु परिवर्तनका कारण नेपालले व्यहोरेको क्षति, जलवायु वित्त, कार्बन उत्सर्जन तथा हानि–क्षतिपूर्तिका विषयलाई प्राथमिकताका साथ उठाउने तयारी गरेको छ। गत भदौ १० गते नेपालमा आएको बाढीबाट ठूलो जनधनको क्षति भएको थियो। उक्त विपद्लाई जलवायु परिवर्तनसँग जोड्दै नेपालले अन्तर्राष्ट्रिय मञ्चमा क्षतिपूर्ति तथा जलवायु न्यायका विषय उठाउने तयारी गरेको हो। यसैबीच, टर्कीमा हुने कोप–३१ मा नेपालको नेतृत्व कसले गर्ने भन्ने अझै निश्चित भएको छैन। प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहलाई टर्कीबाट निमन्त्रणा आए पनि उनी सम्मेलनमा सहभागी हुने वा नहुनेबारे निर्णय भइसकेको छैन। यसअघि संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा पनि नेपालले जलवायु परिवर्तनको विषयलाई प्राथमिकताका साथ उठाएको थियो।
