मनसुनीसँगै पश्चिमी वायुको प्रभाव, देशका धेरै ठाउँमा वर्षाको सम्भावना

काठमाडौं । मनसुनी वायुको प्रभावसँगै पश्चिमी वायु पनि सक्रिय रहेकाले मंगलबार देशका अधिकांश स्थानमा मौसम बदली रहने पूर्वानुमान गरिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी तथा हिमाली क्षेत्रमा चट्याङसहित वर्षा हुने सम्भावना छ भने केही हिमाली भूभागमा हिमपातसमेत हुनसक्नेछ। महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै भूभाग तथा गण्डकी र लुम्बिनी प्रदेशका पश्चिमी क्षेत्रमा पश्चिमी वायुको प्रभाव देखिएको छ। त्यस्तै, कोशी, मधेस र बागमती प्रदेशका सबै भूभाग तथा गण्डकी र लुम्बिनीका अन्य क्षेत्रमा मनसुनी वायुसँगै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम प्रणालीको प्रभावले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा सामान्य बदली भएको छ। अन्य भूभागमा भने आंशिक बदली रहेको छ। बिहान बागमती, गण्डकी र लुम्बिनीका केही स्थान तथा कोशी प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षा भएको महाशाखाले जनाएको छ।

दिउँसो

दिउँसो देशभरको मौसम सामान्यतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली क्षेत्रमा केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका हिमाली भूभागका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। यसैगरी पहाडी क्षेत्रका केही स्थान र तराईका थोरै भूभागमा पनि चट्याङसहित मध्यम वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।

राति

रातिको समयमा हिमाली र पहाडी भूभागमा सामान्य बदली रहनेछ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा पनि मौसम सामान्यतया बदली रहनेछ भने अन्य तराई भूभागमा आंशिक बदली रहने महाशाखाको अनुमान छ। हिमाली क्षेत्रका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा र हिमपात हुनसक्नेछ। पहाडी भूभागका थोरै स्थानमा भने चट्याङसहित मध्यमसम्म वर्षा हुने सम्भावना रहेको छ। त्यस्तै, लुम्बिनी र सुदूरपश्चिमका तराई भूभागका केही स्थान तथा मधेससहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा एक–दुई स्थानमा चट्याङसहित मध्यमसम्म वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।

Back To Top
Modern Footer Design