दसैं यात्राको चापले नयाँ बसपार्कमा मोबाइल नेटवर्क प्रभावित

काठमाडौं । दसैं मनाउन उपत्यकाबाट बाहिरिने यात्रुको चाप बढेसँगै काठमाडौंको नयाँ बसपार्क क्षेत्रमा मोबाइल फोनको नेटवर्कमा समस्या देखिन थालेको छ। यात्रुको संख्या बढ्दा टेलिकम सेवामा दबाब परेको भन्दै सेवा प्रदायकको क्षमता विस्तार गर्न पहल थालिएको छ।

यातायात व्यवस्था विभागमा मंगलबार बसेको सरोकारवालाको बैठकले नेपाल टेलिकमसहित अन्य मोबाइल सेवा प्रदायकलाई नेटवर्क क्षमता बढाउन आग्रह गर्ने निर्णय गरेको छ। यसका लागि विभागले सम्बन्धित सेवा प्रदायकलाई औपचारिक पत्राचार गर्ने भएको छ। बैठकले दसैं तथा चाडपर्वका समयमा रिजर्भमा सञ्चालन हुने सवारीसाधन र त्यसमा यात्रा गर्ने यात्रुको विवरण अनिवार्य रूपमा अभिलेख राख्ने निर्णय पनि गरेको छ। विभागले त्यसका लागि नमुना प्रारूप तयार गरी यातायात व्यवसायीलाई उपलब्ध गराउनेछ।

त्यस्तै, रिजर्भमा जाने सवारीसाधनको फिटनेस परीक्षणलाई प्रभावकारी बनाउन नाडा र सिप्रदीसँग समन्वय गर्ने निर्णय भएको छ। सवारी परीक्षण कार्यालय टेकुबाट प्राविधिक कर्मचारीसमेत खटाइने भएको छ। चाडपर्वका बेला यात्रु व्यवस्थापन सहज बनाउन काठमाडौं उपत्यकाका प्रमुख नाकामा रहेका यात्रु सहायता कक्षको अनुगमन र सहजीकरणका लागि विभागले फोकल पर्सनसहितको टोली परिचालन गर्ने भएको छ। यातायात व्यवसायीका तर्फबाट पनि सम्पर्क व्यक्ति तोकिने निर्णय बैठकले गरेको छ।

Back To Top
Modern Footer Design