काठमाडौँ । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव कायम रहँदा देशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली भएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार केही स्थानमा हल्का वर्षा र हिमपात हुने सम्भावना रहेको छ। महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ। त्यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा पनि आंशिक बादल लाग्ने सम्भावना छ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्र तथा देशका अधिकांश तराई भूभागमा भने मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ। यसैगरी, हिमाली भूभागका साथै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
