चितवन । चितवनको नारायणगढस्थित शहीदचोकमा जडान गरिएका ट्राफिक लाइटका केबल चोरी भएपछि परीक्षण तथा सञ्चालन प्रक्रिया प्रभावित भएको छ । तार काटेर चोरी गरिएपछि ट्राफिक लाइट सञ्चालनका लागि नयाँ केबल जडान गर्नुपर्ने भएको छ ।
ट्राफिक लाइट जडानको जिम्मा पाएको एभरेस्ट टु सी अमर ज्योति जेभीले घटनाबारे प्रहरीमा उजुरी दिएको छ । प्रहरीले घटनामा संलग्न व्यक्तिहरूको खोजी भइरहेको जनाएको छ । निर्माण कम्पनीका सञ्चालक सुमन थापाका अनुसार चोरी भएका केबल नेपालमा सहजै उपलब्ध नहुने भएकाले विदेशबाट मगाउनुपर्ने अवस्था छ । काटिएका तार जोडेर प्रयोग गर्न नमिल्ने भएकाले नयाँ केबल ल्याएर जडान गर्न कम्तीमा एक महिना लाग्ने उनले बताएका छन् ।
नारायणगढको पुलचोकदेखि गोन्द्राङसम्मको ६ लेन सडक तथा बाइपास क्षेत्रका पुलचोक, शहीदचोक, चौबीसकोठी, हाकिमचोक, केन्द्रीय बस टर्मिनल र मालपोत चोक गरी छ स्थानमा ट्राफिक लाइट जडान गरिएको छ । सवारी चाप बढी हुने र दुर्घटनाको जोखिम रहेका चोकमा सवारी आवागमन व्यवस्थित गर्ने उद्देश्यले ट्राफिक लाइट राखिएको हो ।
भरतपुर महानगरपालिकाका छ चोकमा ट्राफिक लाइट जडान गर्न २०८२ साउन २० गते मूल्य अभिवृद्धि करसहित १ करोड २३ लाख १४ हजार २६० रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । सम्झौताअनुसार २०८२ चैत २० गतेभित्र काम सम्पन्न गर्नुपर्ने भए पनि निर्धारित समयमा निर्माण पूरा हुन सकेको थिएन । ढिलाइ भएपछि निर्माण कम्पनीलाई दैनिक पाँच हजार रुपैयाँका दरले जरिवाना तिराउँदै काम अघि बढाइएको थियो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख अनिल थापाले ट्राफिक लाइट सञ्चालनमा आएपछि सवारी व्यवस्थापन सहज हुने बताएका छन् । ट्राफिक लाइटको सञ्चालन, समय निर्धारण तथा अनुगमन कार्यालयको कन्ट्रोल रुमबाट कम्प्युटर प्रणालीमार्फत गर्ने व्यवस्था मिलाइएको छ । तर, केबल चोरीको घटनाले ट्राफिक लाइटको परीक्षण र सञ्चालनमा थप ढिलाइ हुने भएको छ ।
