लालपुर्जा राजनीतिक आश्वासन होइन, भूमिहीनको अधिकार हो : मन्त्री रावल

चितवन । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीन दलित, सुकुमवासी र अव्यवस्थित बसोबासीलाई लालपुर्जा उपलब्ध गराउनु राजनीतिक प्रतिबद्धता मात्रै नभई उनीहरूको अधिकार भएको बताएकी छन्।

सोमबार चितवनको भरतपुर महानगरपालिका–११ स्थित गणेशस्थानमा स्थानीय बासिन्दासँग छलफल गर्दै मन्त्री रावलले विगतमा लालपुर्जा वितरणको विषयलाई राजनीतिक स्वार्थसँग जोडेर प्रयोग गरिएको उल्लेख गरिन्। उनले लालपुर्जा वितरणलाई राजनीतिभन्दा अलग राखेर नागरिकको अधिकारका रूपमा अघि बढाउनुपर्नेमा जोड दिइन्। मन्त्री रावलका अनुसार भूमिहीन तथा सुकुमवासीलाई लालपुर्जा वितरण गर्न बाधा पुर्‍याउने नीतिगत समस्या हटाउन सरकारले अध्यादेशमार्फत व्यवस्था गरिसकेको छ। अब स्थानीय तह र भूमि समस्या समाधानसम्बन्धी समितिले प्रक्रिया छिटो अघि बढाउनुपर्ने उनको भनाइ छ।

लालपुर्जा पाउन ढिलाइ हुँदा भूमिहीन तथा सुकुमवासीले लामो समयदेखि समस्या भोग्दै आएको उल्लेख गर्दै उनले उनीहरूलाई यथाशीघ्र जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताइन्। छलफलका क्रममा स्थानीय बासिन्दाले आफ्ना समस्या र गुनासा मन्त्रीसमक्ष राखेका थिए। मन्त्री रावलले चितवनका सबै स्थानीय तहमा पुगेर भूमिहीन, सुकुमवासी तथा अव्यवस्थित बसोबासीका समस्या बुझ्ने र समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने प्रतिबद्धतासमेत व्यक्त गरिन्। उनले लालपुर्जा वितरणमा हुने ढिलाइ अन्त्य गरी नागरिकको समस्या समाधान गर्न स्थानीय तह र सम्बन्धित समितिलाई सक्रियताका साथ काम गर्न आग्रह गरेकी छन्।

Back To Top
Modern Footer Design