काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरिएका चार जनाविरुद्ध संसदीय सुनुवाइ समितिले उजुरी आह्वान गरेको छ।
सोमबार सूचना जारी गर्दै संघीय संसद्को संसदीय सुनुवाइ समितिले प्रस्तावित न्यायाधीशको नियुक्ति उपयुक्त छैन भन्ने लागेमा आधार र प्रमाणसहित १० दिनभित्र उजुरी दिन सर्वसाधारणलाई आग्रह गरेको हो। न्याय परिषद्ले गत असोज २० गते उच्च अदालत पोखराका मुख्य न्यायाधीश रत्नबहादुर बागचन्द तथा न्यायाधीशहरू चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगीलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको थियो।
समितिका अनुसार उजुरीकर्ताले समितिको सचिवालय वा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत उजुरी दिन सक्नेछन्। उजुरी दिँदा आफ्नो नाम, थर, ठेगाना र फोन नम्बर खुलाउनुपर्नेछ। तर, उजुरीकर्ताले चाहेमा उनको नाम गोप्य राखिने व्यवस्था गरिएको छ। उजुरी प्राप्त भएपछि समितिले आवश्यक छलफल गर्नेछ र त्यसपछि प्रस्तावित न्यायाधीशहरूको संसदीय सुनुवाइ प्रक्रिया अघि बढ्नेछ। समितिबाट अनुमोदन भएपछि मात्रै उनीहरूको नियुक्तिको प्रक्रिया अगाडि बढ्नेछ।
