काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले नेपाल प्रिमियर लिग (एनपीएल) नेपाली क्रिकेटको विकास, प्रतिभाको पहिचान र राष्ट्रिय एकतालाई बलियो बनाउने महत्त्वपूर्ण माध्यम बनेको बताएकी छन्।
सोमबारदेखि सुरु भएको एनपीएलको तेस्रो संस्करणबारे आफ्नो धारणा सार्वजनिक गर्दै मन्त्री गौतमले यस प्रतियोगिताले नेपाली क्रिकेटप्रतिको उत्साहलाई थप बढाएको उल्लेख गरेकी हुन्। उनका अनुसार एनपीएलले देशका विभिन्न ठाउँमा रहेका तर पर्याप्त अवसर नपाएका प्रतिभाशाली खेलाडीलाई आफ्नो क्षमता देखाउने अवसर दिएको छ। विश्वस्तरीय खेलाडीसँग एउटै मैदानमा खेल्न पाउने अवसरले नेपाली खेलाडीको आत्मविश्वास बढाउनुका साथै युवालाई क्रिकेटमा भविष्य खोज्न प्रेरित गर्ने उनको विश्वास छ।
मन्त्री गौतमले एनपीएलले खेलकुदमा निजी क्षेत्रको लगानी र सहभागिताको महत्त्वसमेत देखाएको बताएकी छन्। सरकारले आवश्यक वातावरण तयार गरिदिए निजी क्षेत्रले खेलकुदको विकासमा ठूलो योगदान दिन सक्ने उनको भनाइ छ। उनले प्रतियोगितामा सहभागी सबै टोली, खेलाडी र आयोजकलाई सफलताको शुभकामना दिँदै मैदानमा जुनसुकै टोलीले जिते पनि त्यसको वास्तविक सफलता नेपाली क्रिकेटकै हुने बताएकी छन्।
