भुटानमा हिमताल फुट्दा ठूलो बाढी, तातोपानी कुण्ड र सडकमा क्षति

काठमाडौं । भुटानको उत्तरी क्षेत्रमा रहेको हिमताल विस्फोट भएपछि आएको बाढीले ठूलो भौतिक क्षति पुर्‍याएको छ।

बाढीका कारण पर्यटकीय गन्तव्यका रूपमा परिचित गासा त्साचु तातोपानी कुण्ड बगाएको छ भने पुनाखा–गासा जोड्ने राजमार्गको ठूलो हिस्सा समेत क्षतिग्रस्त भएको छ। भुटानको गासा जिल्लास्थित सिन्टाफु हिमतालबाट बिहीबार साँझ पानी बाहिरिएपछि बाढी आएको हो। लुङ्गो, लया गेओगस्थित वाकिला पहाडनजिक रहेको तालको पानी राति करिब ८ बजेर १५ मिनेटमा ताकत्सेमाखाङ क्षेत्रमा पुगेको थियो। त्यसपछि दुर्गम बस्ती जोड्ने सडकमा समेत क्षति पुगेको बताइएको छ।

बाढीले पुनाखा–गासा राजमार्गको करिब ३१ दशमलव ८५ किलोमिटर खण्डमा क्षति पुर्‍याएपछि अर्को सूचना जारी नभएसम्मका लागि यातायात बन्द गरिएको छ। अधिकारीहरूले अत्यावश्यक कामबाहेक यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेका छन्। सम्भावित जोखिमलाई ध्यानमा राख्दै प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ। स्थानीयलाई सचेत गराउन चेतावनी साइरनसमेत बजाइएको थियो। शुक्रबार बिहानसम्म मानवीय क्षतिको विवरण प्राप्त नभए पनि बाढीले पुर्‍याएको कुल क्षतिको मूल्याङ्कन भइरहेको छ।

सिन्टाफु तालबाट निस्किएको पानी मो छु नदी हुँदै पुनाखा पुग्छ। त्यहाँ फो छु नदीसँग मिसिएपछि पुनात्साङछु नदी बन्छ, जुन पछि सङ्कोश नदीका रूपमा भारत प्रवेश गर्छ। यही कारण भुटानमा आएको बाढीको सम्भावित प्रभावलाई ध्यानमा राख्दै भारतमा समेत सतर्कता बढाइएको छ। सिन्टाफु हिमताल भुटानका सम्भावित जोखिमयुक्त १७ हिमतालमध्ये एक हो। सन् २०२३ मा भुटानी विज्ञहरूले यसको अध्ययन गर्दै ताल, प्राकृतिक बाँध र पानीको स्रोतका रूपमा रहेका हिमनदीको अवस्थाबारे अनुसन्धान गरेका थिए। जोखिमको निगरानीका लागि आवश्यक उपकरणसमेत जडान गरिएको थियो। यद्यपि जोखिमयुक्त तालको सूचीमा रहनुको अर्थ त्यसबाट विस्फोट हुने निश्चितता भने होइन।

यसैबीच, भारतको केन्द्रीय जल आयोगले सम्भावित बाढीलाई मध्यनजर गर्दै पश्चिम बङ्गाल र असमका क्षेत्रमा सतर्कता जारी गरेको छ। आयोगले अलिपुरद्वार र धुब्री जिल्लामा नदीको जलस्तर अचानक बढ्न सक्ने भन्दै स्थानीय प्रशासनलाई सङ्कोश नदीको बहाव निरन्तर निगरानी गर्न र आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।

Back To Top
Modern Footer Design