काठमाडौं । सोलुखुम्बुको फेरिचे हेलिप्याडमा अवतरण गर्ने क्रममा दुई हेलिकोप्टर एकआपसमा ठोक्किँदा एक विदेशी पर्यटकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।
फिस्टेल एयर र डायनेस्टी एयरका हेलिकोप्टर अवतरण गर्ने क्रममा आपसमा ठोक्किएर दुर्घटना भएको हो। प्रमुख जिल्ला अधिकारी कमानसिंह थापामगरका अनुसार फेरिचे हेलिप्याडमा अवतरणका क्रममा दुवै हेलिकोप्टरका पंखा एकआपसमा ठोक्किएका थिए।
दुर्घटनामा एक विदेशी पर्यटकको ज्यान गएको र अर्का एक जना घाइते भएको उनले जानकारी दिएका छन्। घटनाबारे थप विवरण प्राप्त गर्ने प्रयास भइरहेको प्रशासनले जनाएको छ। दुर्घटनाको कारण र अन्य क्षतिबारे विस्तृत जानकारी आउन बाँकी रहेको छ।
