रोमाञ्चक भिडन्तमा विराटनगर विजयी, जनकपुर २ रनले स्तब्ध

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार भएको रोमाञ्चक खेलमा विराटनगर किंग्सले जनकपुर बोल्ट्सलाई २ रनले पराजित गरेको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा १७५ रनको लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १७२ रन मात्रै बनाउन सक्यो। अन्तिम समयसम्म जितका लागि संघर्ष गरे पनि जनकपुर लक्ष्यभन्दा २ रनले पछि पर्दै पराजित भयो।

जनकपुरका सैफ हसनले उत्कृष्ट ब्याटिङ गर्दै ४८ बलमा ५ छक्का र २ चौकाको मद्दतले अविजित ७१ रन बनाए। त्यस्तै विशाल सुशलिङले ३० बलमा ४३ रनको योगदान दिए। तर उनीहरूको प्रयास टोलीलाई जित दिलाउन पर्याप्त हुन सकेन। विराटनगरको जितमा आन्द्रे रसेलले महत्त्वपूर्ण भूमिका निर्वाह गरे। उनले ४ विकेट लिए भने एन्जेलो म्याथ्युजले २ र रुपेश सिंहले १ विकेट हात पारे। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १७४ रन बनाएको थियो। उक्त लक्ष्य रक्षा गर्दै विराटनगरले प्रतियोगितामा रोमाञ्चक जित आफ्नो पक्षमा पारेको हो।

Back To Top
Modern Footer Design