मनोज केसीलाई प्रहरी महानिरीक्षक बनाउने सरकारको निर्णय, दानबहादुर कार्की विशेष सुरक्षा सल्लाहकारमा

काठमाडौं । सरकारले नेपाल प्रहरीको नेतृत्व परिवर्तन गर्दै अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) मनोज केसीलाई प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गर्ने निर्णय गरेको छ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई प्रहरी संगठनको सर्वोच्च नेतृत्वमा पुर्‍याउने निर्णय गरेको हो। उनी यसअघि नेपाल प्रहरीको अपराध अनुसन्धान विभाग प्रमुखका रूपमा कार्यरत थिए। त्यस्तै, सरकारले वर्तमान आईजीपी दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिने निर्णय गरेको छ।

मन्त्रिपरिषद् स्रोतका अनुसार मुलुकको शान्ति सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउने उद्देश्यसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आईजीपीस्तरको विशेष सुरक्षा सल्लाहकार पद सिर्जना गरिएको हो। सोही पदमा कार्कीलाई जिम्मेवारी दिने निर्णय भएको बताइएको छ। यसअघि पनि नेपाल प्रहरीको नेतृत्व परिवर्तनका क्रममा आईजीपीलाई पदबाट हटाएर सुरक्षा सल्लाहकारको जिम्मेवारी दिने अभ्यास देखिएको थियो।

पूर्वआईजीपी अच्युतकृष्ण खरेललाई सरकारले पदबाट हटाएर राष्ट्रिय अनुसन्धान विभागमा सरुवा गरेको थियो। तर, दरबन्दी नै नभएको स्थानमा सरुवा गरिएको भन्दै खरेलले त्यसविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए। अदालतबाट आफ्नो पक्षमा फैसला आएपछि उनी पुनः प्रहरी महानिरीक्षकमा फर्किएका थिए। त्यसबीच सरकारले ध्रुवबहादुर प्रधानलाई आईजीपी नियुक्त गरेको थियो।

त्यस्तै, सुडान घोटाला प्रकरणमा नाम जोडिएपछि तत्कालीन आईजीपी रमेशचन्द ठकुरीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा सरुवा गरिएको थियो। उनको स्थानमा रवीन्द्रप्रताप शाहलाई प्रहरी महानिरीक्षकको जिम्मेवारी दिइएको थियो। सरकारको पछिल्लो निर्णयसँगै नेपाल प्रहरीको नेतृत्वमा फेरबदल भएको छ। अपराध अनुसन्धानको जिम्मेवारी सम्हाल्दै आएका केसीका लागि अब प्रहरी संगठनको समग्र नेतृत्व, शान्ति सुरक्षा व्यवस्थापन र संस्थागत सुधार प्रमुख चुनौतीका रूपमा रहनेछन्।

Back To Top
Modern Footer Design