काठमाडौं । यमनमा साउदी अरबको समर्थन प्राप्त सरकारी सेना रणनीतिक रूपमा महत्त्वपूर्ण बाब अल–मन्देब जलडमरू क्षेत्रबाट पछि हटेको छ। सेनाको फिर्तीसँगै इरान समर्थित हुथी विद्रोही समूहले लालसागरको प्रवेशद्वार मानिने उक्त क्षेत्रमाथि नियन्त्रण कायम गरेको छ।
यमनको सेनाले आफ्नो अन्तरिम राजधानी एडेनको सुरक्षालाई प्राथमिकता दिँदै उक्त क्षेत्रबाट सैनिकहरू अन्यत्र परिचालन गरिएको जनाएको छ। आइतबार जारी सैन्य वक्तव्यमा धुबाब विमानस्थल र बाब अल–मन्देब क्षेत्रबाट सेना फिर्ता बोलाइएको उल्लेख छ। गत सेप्टेम्बरमा हुथी विद्रोहीले अचानक आक्रमण गरी उक्त क्षेत्र कब्जा गरेपछि सरकारी सेनाले नियन्त्रण फिर्ता लिन अभियान चलाएको थियो। अक्टोबरको सुरुवातमा सरकारी सेनाले जलडमरू क्षेत्र सुरक्षित गरेको दाबी गरे पनि हुथीहरूले पेरिम टापु र रणनीतिक बन्दरगाह सहर मोखासहितका क्षेत्रमा आफ्नो नियन्त्रण कायम राखेको बताएका थिए।
सरकारी सेनाले अहिले एडेन र आसपासका प्रान्तको सुरक्षा मजबुत बनाउन सैनिक शक्ति केन्द्रित गर्ने निर्णय गरेको छ। हुथी सञ्चारमाध्यमले आइतबार उक्त क्षेत्र पूर्ण रूपमा आफ्नो नियन्त्रणमा आएको दाबी गरेका छन्। यद्यपि, साउदी अरबले यस विषयमा औपचारिक प्रतिक्रिया दिएको छैन। बाब अल–मन्देब जलडमरू विश्व व्यापार र अन्तर्राष्ट्रिय समुद्री यातायातका लागि अत्यन्त महत्त्वपूर्ण मार्ग मानिन्छ। लालसागरलाई अदनको खाडीसँग जोड्ने यो जलमार्ग हुँदै ठूलो परिमाणमा विश्वव्यापी व्यापार तथा ऊर्जा आपूर्ति हुने गर्छ।
इरानसँगको युद्धका कारण होर्मुज जलडमरू प्रभावकारी रूपमा बन्द भएपछि साउदी अरबले तेल निर्यातका लागि लालसागरको मार्ग प्रयोग गर्दै आएको थियो। यस्तो अवस्थामा हुथी विद्रोहीको नियन्त्रणले अन्तर्राष्ट्रिय तेल आपूर्तिमा थप दबाब सिर्जना गरेको छ र विश्व बजारमा तेलको मूल्यसमेत बढेको समाचारमा उल्लेख छ। यसैबीच, संयुक्त राष्ट्रसंघले यमनमा बढ्दो हिंसाप्रति चिन्ता व्यक्त गरेको छ। राष्ट्रसंघीय मानव अधिकार प्रवक्ता रविना शामदासानीले सबै पक्षलाई सर्वसाधारण नागरिक र नागरिक पूर्वाधारको सुरक्षा गर्न आग्रह गरेकी छन्। उनका अनुसार अगस्टयता द्वन्द्व चर्किएपछि अभिलेख गरिएका नागरिक हताहतीमध्ये ६० प्रतिशतभन्दा बढी महिला र बालबालिका छन्।
पछिल्ला साताहरूमा हुथी विद्रोहीले एडेन सहरमा पटक–पटक आक्रमण गरेका छन्। अक्टोबर १५ मा राष्ट्रपति भवनलाई लक्षित गरी गरिएको आक्रमणमा पाँच जनाको मृत्यु र १६ जना घाइते भएका थिए। त्यसको जवाफमा साउदी अरबले सयौँ हवाई आक्रमण गरेको थियो भने हुथीहरूले पनि साउदी सहर तथा पूर्वाधारलाई लक्षित गरी ड्रोन र क्षेप्यास्त्र प्रहार गरेका थिए। संयुक्त राष्ट्रसंघको अनुमानअनुसार यमनमा द्वन्द्व थप चर्किएपछि करिब ३ लाख ३० हजार मानिस विस्थापित भएका छन्। हिंसात्मक घटनामा सयौँ मानिसको ज्यान गएको विवरण सार्वजनिक भएको छ।
