इनार निर्माणको भुक्तानीका लागि ३ लाख ४५ हजार घुस, दुई प्राविधिक अधिकृतविरुद्ध मुद्दा

काठमाडौँ । पर्साको ठोरी गाउँपालिकामा सञ्चालित इनार निर्माण योजनाको अन्तिम भुक्तानी र धरौटी रकम फिर्ता गरिदिने भन्दै घुस लिएको आरोपमा दुई जना प्राविधिक अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय वीरगन्जमा कार्यरत अधिकृत छैटौँ (प्राविधिक) गजेन्द्र प्रसाद जायसवाल र विकी यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको हो।

आयोगका अनुसार आर्थिक वर्ष २०८२/०८३ मा ठोरी गाउँपालिका–३ मा सम्पन्न ‘जलस्रोतको पुनर्भरण/भण्डारण कार्य (सार्वजनिक इनार/पोखरीको) निर्माण तथा मर्मत सम्भार कार्य’ को रकम भुक्तानी र धरौटी फिर्ताका लागि उनीहरूले सेवाग्राहीसँग रकम माग गरेका थिए।

अनुसन्धानका क्रममा दुवै अधिकृतले आपसी मिलेमतोमा सेवाग्राहीबाट ३ लाख ४५ हजार रुपैयाँ घुस लिएको पुष्टि भएको अख्तियारले जनाएको छ।

कार्यालय समयमा आफूले रकम लिन नमिल्ने भन्दै अधिकृत जायसवालले अर्कै व्यक्तिमार्फत घुस रकम बुझ्न लगाएको समेत अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ। अख्तियारका अनुसार दुवै जनाविरुद्ध ३ लाख ४५ हजार रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद तथा बिगोबराबर जरिवानाको मागदाबी गरिएको छ।

Back To Top
Modern Footer Design