काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चीनको सिचुवान प्रान्तसँग विभिन्न पाँच क्षेत्रमा सहकार्य विस्तार गर्न प्रस्ताव गरेको छ। विपद् व्यवस्थापन, पूर्वाधार, स्वच्छ ऊर्जा, पर्यटन तथा डिजिटल नवप्रवर्तनलाई सहकार्यका मुख्य क्षेत्रका रूपमा अघि सारिएको हो।
रास्वपा महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा चीन पुगेको प्रतिनिधिमण्डलले सिचुवान प्रान्तीय सचिव वाङ स्याओहुईसँग चेङ्दुमा भेटवार्ता गर्दै सहकार्यका प्राथमिकताबारे छलफल गरेको हो।
मंसिर १ गते भएको भेटवार्तामा नेपाल–चीनबीचको पुरानो सम्बन्धलाई विकास, आर्थिक समृद्धि र व्यावहारिक साझेदारीमा रूपान्तरण गर्ने विषयमा छलफल भएको रास्वपाका प्रवक्ता जगदीश खरेलले बताएका छन्।
रास्वपाले पहिलो प्राथमिकतामा सीमापार यातायात पूर्वाधारलाई राखेको छ। वर्षभर सञ्चालन गर्न सकिने सडक, सुक्खा बन्दरगाहको विस्तार तथा आधुनिक भन्सार प्रणाली निर्माणमा सहकार्य गर्न प्रस्ताव गरिएको छ।
त्यस्तै, पर्वतीय विज्ञान, सूचना आदानप्रदान तथा विपद् व्यवस्थापनलाई दोस्रो प्राथमिकताका रूपमा राखिएको छ। नेपाल र सिचुवान दुवै पर्वतीय क्षेत्र भएकाले विश्वविद्यालय, अनुसन्धान संस्था तथा विज्ञबीच सहकार्य गर्न सकिने रास्वपाको भनाइ छ। मौसम पूर्वानुमान, बाढीको पूर्वसूचना, सुरक्षित सडक निर्माण तथा विपद् पूर्वतयारीमा अनुभव आदानप्रदान गर्न पनि प्रस्ताव गरिएको छ।
तेस्रो प्राथमिकतामा स्वच्छ ऊर्जा र हरित उद्योगलाई राखिएको छ। नेपालको जलविद्युत् सम्भावनालाई सिचुवानको ऊर्जा तथा औद्योगिक अनुभवसँग जोड्दै लगानी र प्रविधि हस्तान्तरण बढाउन सकिने रास्वपाले जनाएको छ। हरित हाइड्रोजन, रासायनिक मल, विद्युतीय सवारीसाधन तथा ब्याट्री उत्पादनमा समेत सहकार्यको सम्भावना औँल्याइएको छ।
पर्यटन, हवाई सम्पर्क र व्यापार प्रवर्द्धनलाई चौथो प्राथमिकताका रूपमा अघि सारिएको छ। चेङ्दुबाट काठमाडौं, पोखरा र भैरहवाका लागि थप प्रत्यक्ष उडानको सम्भावना खोज्न नेपाली पक्षले आग्रह गरेको छ। साथै, नेपाली जडीबुटी, चिया, फलफूल तथा हस्तकलाको चीनमा निर्यात बढाउन प्रशोधन, भण्डारण, गुणस्तर मापदण्ड र बजार पहुँचमा सहकार्य गर्न प्रस्ताव गरिएको छ।
पाँचौँ प्राथमिकतामा युवा तथा डिजिटल नवप्रवर्तनलाई राखिएको छ। कृत्रिम बुद्धिमत्ता, सफ्टवेयर इन्जिनियरिङ, प्राविधिक तालिम र हरित डेटा सेन्टरजस्ता क्षेत्रमा सहकार्य गर्न सकिने रास्वपाको प्रस्ताव छ।
भेटमा सिचुवानका प्रान्तीय सचिव वाङले नेपाल–चीनबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका थिए। उनले स्थानीय तहमा पार्टीगत तथा सरकारी सम्बन्ध बलियो बनाउँदै नयाँ क्षेत्रमा रणनीतिक साझेदारी विस्तार गर्न प्रतिनिधिमण्डलको भ्रमण महत्वपूर्ण रहेको बताएका थिए।
रास्वपा महामन्त्री आचार्यले सिचुवानको आर्थिक तथा सामाजिक विकासको प्रशंसा गर्दै नेपालको विकासमा चीनले गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्त गरेका थिए। उनले सिचुवानलाई नेपालको विश्वासिलो र दीर्घकालीन साझेदारका रूपमा अघि बढाउन चाहेको बताएका छन्।
भेटवार्तामा आचार्यले भदौमा भोटेकोशी क्षेत्रमा भएको विपद्मा ज्यान गुमाएका चिनियाँ नागरिकका परिवारप्रति समवेदना व्यक्त गर्दै विपद्पछि चीनले नेपालका प्रभावित क्षेत्रमा उपलब्ध गराएको आपत्कालीन सहयोगका लागि आभार व्यक्त गरेका थिए।
रास्वपा प्रतिनिधिमण्डलले नेपालले दशकौँदेखि अवलम्बन गर्दै आएको एक चीन नीतिप्रति आफ्नो प्रतिबद्धता निरन्तर रहने जनाएको छ। साथै, चीनको सार्वभौमसत्ता र सुरक्षाविरुद्ध नेपाली भूमि प्रयोग हुन नहुने धारणा पनि प्रतिनिधिमण्डलले स्पष्ट पारेको छ।
