काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मलद्वारभित्र सुन लुकाएर ल्याएको आरोपमा एक चिनियाँ नागरिक पक्राउ परेका छन्।
विमानस्थल सुरक्षा कार्यालयका अनुसार बुधबार बिहान नेपाल वायुसेवा निगमको ‘आरए ४१०’ उडानमार्फत हङकङबाट काठमाडौँ आएका ५८ वर्षीय जियानहुआ वाङलाई सुनजस्तो देखिने पहेँलो अर्धठोस पदार्थसहित नियन्त्रणमा लिइएको हो।
चीनको जिलिन स्थायी ठेगाना भएका वाङको गतिविधि शङ्कास्पद देखिएपछि सुरक्षाकर्मीले जाँच गरेका थिए। जाँचका क्रममा उनले मलद्वारभित्र प्लास्टिकले बेरेर लुकाइराखेका चार थान पहेँलो गोलाकार अर्धठोस पदार्थ फेला परेको प्रहरीले जनाएको छ।
बरामद पदार्थको कुल तौल १ किलो ८०३ दशमलव ७७ ग्राम रहेको छ। भन्सार क्षेत्र पार गरी बाहिर निस्कने क्रममा उनलाई नियन्त्रणमा लिइएको हो।
पक्राउ परेका वाङलाई थप अनुसन्धान तथा कानुनअनुसार कारबाहीका लागि विमानस्थल भन्सार कार्यालय, गौचर पठाइएको प्रहरीले जनाएको छ।
यसअघि पनि कात्तिक २९ गते हङकङबाट काठमाडौँ आएका अर्का चिनियाँ नागरिक सुनसहित पक्राउ परेका थिए। ४२ वर्षीय झान गुओकिङको साथबाट ६३५ दशमलव ९६ ग्राम तौलको सुनजस्तो देखिने पहेँलो अर्धठोस पदार्थ बरामद भएको थियो।
गुओकिङले उक्त पदार्थ भित्री वस्त्रभित्र लुकाएर ल्याएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। उनलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाइएको छ।
