काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निर्वाचन आयोगले आयोजना गरेको राजनीतिक दलहरूसँगको छलफलमा सहभागी नभई फर्किएका छन्।
स्थानीय तह निर्वाचनको तयारीबारे छलफल गर्न निर्वाचन आयोगले राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलका शीर्ष नेताहरूलाई बोलाएको थियो। सोही कार्यक्रममा सहभागी हुन आयोग पुगेका ओली भने केहीबेरमै बाहिरिएका हुन्। आयोगबाट बाहिरिने क्रममा पत्रकारहरूले जिज्ञासा राखेपछि ओलीले आफू उपस्थित भएको कारणबारे संक्षिप्त प्रतिक्रिया दिएका थिए। उनले ‘आउँदै आएन भन्ने नपरोस् भनेर’ आफू आयोग पुगेको बताए।
शीर्ष नेताहरू छलफलमा सहभागी भइरहँदा आफू किन बैठकमा नबसेको भन्ने प्रश्नमा ओलीले एमालेमा पनि सोही तहको नेता रहेको जवाफ दिए। छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेपाली कांग्रेसका सभापति गगन थापा र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका नेताहरू सहभागी थिए। एमालेका तर्फबाट भने पार्टीको निर्वाचन विभाग प्रमुख देवेन्द्र दाहाल छलफलमा सहभागी भएका छन्।
