निर्वाचन निष्पक्ष बनाउन सरकारको भूमिका महत्त्वपूर्ण हुन्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण रूपमा सम्पन्न गराउने प्रमुख जिम्मेवारी सरकारको भएको बताएका छन्। निर्वाचन आयोगको मात्रै प्रयासले निर्वाचनको निष्पक्षता सुनिश्चित हुन नसक्ने उनको भनाइ छ।

शुक्रबार निर्वाचन आयोगले स्थानीय तह र प्रदेशसभा निर्वाचनको तयारीका विषयमा राजनीतिक दलका नेताहरूसँग गरेको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै सभापति थापाले निर्वाचनका क्रममा सरकारले सबै राजनीतिक दललाई समान व्यवहार गर्नुपर्ने बताएका हुन्। उनले सामान्य अवस्थामा सरकारले प्रतिपक्ष वा अन्य राजनीतिक दललाई बेवास्ता गरे पनि निर्वाचनका बेला त्यस्तो व्यवहार स्वीकार्य नहुने स्पष्ट पारे। निर्वाचनको वातावरण निर्माण गर्न सरकार आफैँ जिम्मेवार हुनुपर्ने उनको धारणा छ।

सभापति थापाले भदौ २३ र २४ गतेको अप्रत्याशित घटनापछि सिर्जना भएको राजनीतिक रिक्तताका बीच निर्वाचन सम्पन्न गर्न तत्कालीन प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले राजनीतिक दलहरूसँग पटक–पटक संवाद र छलफल गरेको उदाहरणसमेत प्रस्तुत गरे। त्यसबेला निर्वाचन आयोगसँगै सरकारले खेलेको भूमिकाका कारण निर्वाचन सम्भव भएको उनले बताए। स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई शान्तिपूर्ण तथा निष्पक्ष बनाउन सरकारले गर्नुपर्ने तयारी र निर्वाह गर्नुपर्ने भूमिकाबारे निर्वाचन आयोगले समयमै सरकारको ध्यानाकर्षण गराउनुपर्नेमा उनले जोड दिए। निर्वाचन गराउने सम्पूर्ण जिम्मेवारी आयोगको मात्रै नभएको भन्दै सरकार र आयोगबीच प्रभावकारी समन्वय आवश्यक रहेको उनको भनाइ छ। निर्वाचन कहिले र कसरी गराउने भन्ने विषय संविधानमा स्पष्ट व्यवस्था भए पनि त्यसको व्यावहारिक कार्यान्वयनका लागि राजनीतिक दलहरूसँग छलफल गरेर आवश्यक निर्णय लिनुपर्ने सभापति थापाले बताएका छन्।

Back To Top
Modern Footer Design