पश्चिमी वायु र न्यून चापीय क्षेत्रको प्रभाव, तीन प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौँ । नेपालमा पश्चिमी वायु तथा पूर्वी क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यसको प्रभावले देशका केही भूभागमा आंशिक बदली भएको छ।

आज दिउँसो कोशी र मधेस प्रदेशसहित गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहने सम्भावना छ। अन्य क्षेत्रमा भने मौसम मुख्यतः सफा रहने अनुमान गरिएको छ।

कोशी प्रदेशको तराई भूभाग तथा मधेस प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।

आज राति हिमाली क्षेत्र, कोशी प्रदेशको तराई भूभाग र मधेस प्रदेशमा आंशिक बदली रहनेछ। कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रका केही स्थानमा चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

सोमबार पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागमा आंशिक बदली रहनेछ। ती प्रदेशका हिमाली क्षेत्रमा एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा र हिमपात हुनसक्ने पूर्वानुमान गरिएको छ।

अन्य भूभागमा भने सोमबार मौसम मुख्यतः सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

Back To Top
Modern Footer Design