शेख हसिना फर्किए पक्राउ गर्ने बङ्गलादेश सरकारको चेतावनी

काठमाडौं ।बङ्गलादेश सरकारले पूर्वप्रधानमन्त्री शेख हसिना आगामी डिसेम्बर १६ मा स्वदेश फर्किने योजनालाई स्वीकार नगर्ने स्पष्ट पारेको छ ।

सरकारले उनी बङ्गलादेश फर्किए पक्राउ गरिने जनाएको छ ।विदेश राज्यमन्त्री हुमायूँ कबिरले ढाकामा विदेशी कूटनीतिज्ञहरूसँगको छलफलमा हसिना सामान्य यात्रुका रूपमा स्वदेश फर्कन नसक्ने बताएका छन् । दोषी ठहर भइसकेको उल्लेख गर्दै उनले हसिना फर्किए कानुनी कारबाहीको सामना गर्नुपर्ने स्पष्ट पारेका हुन् ।हसिनाले भारतको नयाँदिल्लीबाट बङ्गलादेशको राष्ट्रिय ध्वजावाहक विमानमार्फत ढाका फर्कने व्यवस्था मिलाउन र आवश्यक यात्रा कागजात उपलब्ध गराउन सरकारसँग आग्रह गरेकी थिइन् । तर, उनको प्रस्तावलाई सरकारले स्वीकार नगर्ने सङ्केत दिएको छ ।

कबिरले पत्रकारहरूसँग कुरा गर्दै बङ्गलादेशी जनताले आन्दोलनमार्फत हसिनालाई अस्वीकार गरिसकेको दाबी गरेका छन् । उनले हसिनाको स्वदेश फर्कने इच्छा र वर्तमान राजनीतिक परिस्थितिबीच फरक रहेको उल्लेख गर्दै फर्किए पक्राउ गरिने चेतावनी दिएका छन् ।सन् २०२४ अगस्ट ५ मा विद्यार्थी नेतृत्वको आन्दोलनपछि भारत पुगेकी हसिना त्यसयता नयाँदिल्लीमा बस्दै आएकी छन् । उनको डिसेम्बर १६ मा स्वदेश फर्कने घोषणापछि बङ्गलादेशले भारतसँगको सीमामा सुरक्षा गस्ती बढाएको छ । सीमा सुरक्षा बल बीजीबी ले निगरानी कडा बनाएको जनाइएको छ ।

यसैबीच, हसिनाको सम्भावित पुनरागमन र त्यसबाट उत्पन्न हुन सक्ने राजनीतिक अवस्थाबारे बङ्गलादेश सरकारले विपक्षी दल तथा विभिन्न राजनीतिक समूहसँग छलफल अघि बढाएको छ । राष्ट्रिय नागरिक पार्टीका नेताहरूसँग पनि उनको स्वदेश फिर्ती रोक्ने सम्भावित उपायबारे परामर्श गरिएको बताइएको छ ।

Back To Top
Modern Footer Design