नेपाल बैंकका ग्राहक र कर्मचारीलाई इन्द्रप्रस्थ अपोलो अस्पतालमा उपचारमा विशेष छुट

काठमाडौँ। नेपाल बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरूले भारतको नयाँ दिल्लीस्थित इन्द्रप्रस्थ अपोलो अस्पतालमा उपचार सेवा लिँदा विशेष छुट पाउने भएका छन्।

यस सम्बन्धमा नेपाल बैंक र इन्द्रप्रस्थ अपोलो अस्पतालबीच एक समझदारीपत्र (एमओय)मा हस्ताक्षर भएको छ। सम्झौताअनुसार नेपाल बैंकमा खाता भएका ग्राहक तथा बैंकका कर्मचारीहरूले अस्पतालले प्रदान गर्ने विभिन्न स्वास्थ्य सेवामा बिल रकमको १० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन्। सम्झौतापत्रमा गत जेठ २९ गते नेपाल बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत दीपेन्द्रराज काफ्ले र इन्द्रप्रस्थ अपोलो अस्पतालका तर्फबाट उपप्रबन्धक विपिन शर्माले हस्ताक्षर गरेका हुन्। बैंकका अनुसार उक्त सहकार्यले ग्राहक तथा कर्मचारीलाई अन्तर्राष्ट्रियस्तरको स्वास्थ्य सेवा सहज र सहुलियतपूर्ण रूपमा प्राप्त गर्न मद्दत पुग्नेछ।

अस्पतालले उपलब्ध गराउने विशिष्टीकृत तथा उच्चस्तरीय उपचार सेवाबाट सेवाग्राही प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ। नेपालको पहिलो वाणिज्य बैंकका रूपमा परिचित नेपाल बैंकले पछिल्लो समय ग्राहकमुखी सेवा विस्तारलाई प्राथमिकता दिँदै आएको छ। बैंकले यो समझदारीले आफ्ना ग्राहक तथा कर्मचारीका लागि स्वास्थ्य सेवामा थप सुविधा र पहुँच विस्तार गर्ने विश्वास व्यक्त गरेको छ। हाल नेपाल बैंकले देशभर फैलिएका २३१ शाखा, २४६ एटीएम तथा ६१ एक्सटेन्सन काउन्टरमार्फत करिब २७ लाख ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ।

Back To Top
Modern Footer Design