काठमाडौँ। सांसद रेखा यादवले सरकारका मन्त्रीहरूको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै संसद र जनप्रतिनिधिप्रति गैरजिम्मेवार व्यवहार भइरहेको आरोप लगाएकी छन्।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले विभिन्न संवेदनशील विषयमा सरकार जानकारी लुकाउने प्रवृत्ति देखिएको दाबी गरिन्। मानव अधिकारसम्बन्धी प्रतिवेदन जस्तै गृहमन्त्रीसँग सम्बन्धित प्रतिवेदन पनि सरकारले लुकाएको उनको आरोप थियो। सांसद यादवले अर्थमन्त्रीको पछिल्लो अभिव्यक्तिप्रति पनि कडा आपत्ति जनाइन्। मन्त्रीले संसदको रोष्ट्रमबाट सांसदहरूलाई धम्कीपूर्ण शैलीमा बोल्नु उपयुक्त नभएको भन्दै उनले आपत्ति व्यक्त गरिन्। उनले भनिन्,मानव अधिकारको रिपोर्ट जसरी लुकाइयो, त्यसरी नै गृहमन्त्रीको रिपोर्ट पनि लुकाइएको छ। अर्थमन्त्रीज्यूको अभिव्यक्तिप्रति घोर आपत्ति छ। मन्त्रीले रोष्ट्रमबाट सांसदलाई थर्काउने होइन। देशमा नियम–कानुन छ, फाइल खोल्छु भन्दै धम्की दिन मिल्दैन।
नियमअनुसार कारबाही गर्ने हो, धम्की दिएर होइन। सीमा विवादको विषय उठाउँदै उनले प्रधानमन्त्रीबाट अझै स्पष्ट र ठोस जवाफ नआएको भन्दै असन्तुष्टि पनि व्यक्त गरिन्। यसअघि परराष्ट्रमन्त्रीले दिएको जवाफलाई उनले “ढाकछोप मात्र” भएको टिप्पणी गरिन्। उनले प्रश्न गरिन्, प्रधानमन्त्रीले सीमा सम्बन्धी विवादमा ठोस जवाफ कहिले दिनुहुन्छरु परराष्ट्रमन्त्रीले हामीलाई ललिपप देखाएजस्तो जवाफ दिनुभयो, त्यो सबैलाई थाहा छ, ढाकछोप मात्र भयो। त्यसैगरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रीले ठेकेदारलाई लक्षित गर्दै दिएको “खुट्टा भाँचिदिने” अभिव्यक्तिप्रति पनि उनले आपत्ति जनाइन्।
