काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अहिलेसम्म ६४ जिल्लामा आफ्नो अधिवेशन सम्पन्न गरेको जानकारी दिएको छ।
महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार ६०९ पालिका र ४ हजार ३६३ वडामा पनि अधिवेशन सम्पन्न भइसकेको छ। तर अझै केही जिल्लामा प्रक्रिया बाँकी छ। कर्णाली प्रदेशका डोल्पा र हुम्ला, लुम्बिनीका रुकुम पूर्व, गण्डकीका मनाङ र मुस्ताङ तथा मधेश प्रदेशका धनुषा, सप्तरी, बारा र सर्लाहीमा अधिवेशन हुन बाँकी रहेको छ। त्यस्तै, सिन्धुपाल्चोक, सिराहा, महोत्तरी र रौतहटमा सुरु भएको अधिवेशन बीचमै रोकिएको पार्टीले जनाएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भने अधिवेशन सम्पन्न भइसकेको छ। मधेश प्रदेशको अधिवेशन स्थगित भएको छ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिवेशनको काम अझै जारी रहेको छ।
